२७ वर्षपछि युएनएचसीआरको उपशाखा बन्द हुँदै

झापा, १ भदौं । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) को दमकस्थित उपशाखा बन्द हुने भएको छ ।
भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो । युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ ।
झापाको पूर्वीनाका काकडभिट्टा बाटो हुँदै नेपाली मूलका भूटानी भूटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो ।
आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हटने भएपछि शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि बनाउँदै लगिएको छ ।
पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८ को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा छ हजार ५०० भूटानी शरणार्थी छन् । शिविरमा बाँकी रहेका शरणार्थीको बसाइँ केही लम्बिने भएपछि युएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको बताइएको छ । यसअघि शिविरका एक लाख १३ हजार ५०० शरणार्थी अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्बे, न्यूजील्याण्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका थिए ।