प्रधानमन्त्री ज्यू लोकतन्त्रका लागि लडेको भन्दैमा जे गर्ने छुट पाइँदैन : मिनेन्द्र रिजाल


१ भाद्र २०७६, आईतवार
minendra rijal

काठमाडौं, १ भदौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले लोकतन्त्रका लागि लडेको भन्दैमा कसैलाई पनि जे पायो त्यहि गर्ने छुट नहुने बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्वोधनपछि नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्‍याइरहनु आवश्यक नरहेको बताए । नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको नभई लोकतन्त्रका लागि लडेकाहरु सरकारमा पुगेका होलान् भन्दै यसप्रति हेक्का राख्न आग्रह गरे ।

‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस ।’ उनले एक पटकको लडाईले जीवनभर जे पनि गर्नलाई लाइसेन्स नदिने पनि स्पष्ट पारेका छन् । हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा र वाम आन्दोलनका लागि लडेकाहरुले पनि घुँडा टेकेको आफूहरुले देखेको भन्दै उनले एक पटकको लडाईले जीवनभरका लागि लाइसेन्स नदिने चेतावनी दिए ।

‘एक पटकको लडाइले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिंदैन’, उनले भने, ‘हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा गए । वाम आन्दोलनका लागि लडेकाहरुले घुँडा टेके । त्यसैले एउटा लडाईले सदैब त्यो अधिकार दिंदैन ।’

नेता रिजालले अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने पनि बताए । ‘एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । यस्तो काम देखेपछि अर्को पल्ट त कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ?’ प्रधानमन्त्रीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ताभित्रै तरङ्ग गयो कि भन्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।

पार्टी एकीकरणका बेला केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा आधाको सहमति भएको कुरा तर्फ इंकित गर्दै नेता रिजालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सत्ताभित्र तरङ्ग गयो कि भन्ने आशंका व्यक्त गरेका छन् ।

‘यसपल्टसम्म त यही सरकार हो भन्दा तरङ्ग चाँहि सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ताभित्र कोही तरङ्गित नहुनुहोस् ।’ नेता रिजालले प्रधानमन्त्रीले अहिले मन्त्रीहरुसँग कार्यसम्पादन करार गरिरहेको प्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले चुनावका बेला जनतासँग गरेको कार्यसम्पादन करार किन पूरा भएन भनेर प्रश्न सोधेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७