शिल्पा-छवीको मुद्दा सर्वोच्चमा, फरार भनिएकी शिल्पा किन पुगिन् सुटुक्क सर्वोच्च ?


१ भाद्र २०७६, आईतवार
silpa

काठमाडौं, १ भदौं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्धविच्छेद विवाद सर्वोच्च अदालत पुगेको छ । जिल्ला, उच्च हुँदै उक्त विवाद सर्वोच्च अदालत पुगेको हो ।

जिल्ला अदालत काठमाडौंले बहुविवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पूर्जी जारी गरिएको थियो । जिल्ला अदालतले पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनीहरु हालसम्म फेला परेका छैनन् ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन् ।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो । उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उच्चले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेपछि आफूहरु पक्राउ पर्न सक्ने भन्दै उनी सर्वोच्च पुगेकी हुन् ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् । त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् । उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ ।

छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवैविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो ।

गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७