वरियताकाे विषय उठेपछि माधव नेपालको प्रस्ताव, ‘सचिवालयमा पूर्व एमालेका तीन उपाध्यक्षलाई ल्याऊँ’


१ भाद्र २०७६, आईतवार
madhav nepal

काठमाडौं, १ भदौं । विभागहरुको जिम्मेवारी मुस्किलले टुङ्ग्याएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि अर्को विवाद बढ्न थालेको छ ।

कार्यविभाजनका लागि लामो समय खर्चिएको नेकपामा अहिले वरियताको विवाद चर्को रुपमा देखिन थालेको छ । पार्टीको दोस्रो वरियतामा माधव नेपालको साटो आफूलाई ल्याउनु पर्ने झलनाथ खनालको प्रस्तावले सचिवालय बैठकमा प्रवेश गर्न नपाउँदै नेता नेपालले ‘काउन्टर’ प्रस्ताव अगाडि सारेका छन् ।

नेता नेपालले तत्कालीन एमालेको वरियताअनुसार नेताहरुलाई सचिवालयमा ल्याउनु पर्ने प्रस्ताव अगाडि सारेका छन् । त्यसो गरे तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा आउनु पर्छ र उनीहरुको वरियता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको भन्दा माथि हुनेछ ।

किनकी तत्कालीन एमालेमा पोखरल महासचिव र पौडेल उपमहासचिव थिए । साबिक एमालेमा निवर्तमान पार्टी प्रमुखको हैसियतामा केपी ओलीपछि झलनाथ खनाल वरिष्ठ नेता थिए । खनालपछि नेपाल थिए । तर, एमाले र माओवादी मिलेर नेकपा बनेपछि वरियताक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डपछि नेता नेपाललाई ल्याइयो ।

खनाल उसैबेला नै बवरियताको विषयलाई लिएर आपत्ति जनाएका थिए । आफूलाई दोस्रो वरियता दिनुपर्ने प्रस्ताव सचिवालयमा पेश पनि गरेका थिए । त्यसबेला उनको माग बैठकको एजेण्डा नै बनेन । तर, झण्डै डेढ वर्षपछि खनालले दोस्रो वरियता दिनुपर्ने माग राख्दा अध्यक्षद्वयले अर्को बैठकमा छलफल गराउने आश्वासन दिए । सचिवालयकै केही नेताले समर्थन पनि गरे ।

वरिष्ठ नेता नेपालले भने साविक एमालेको वरियताअनुसार जाने हो भने तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा ल्याएर ईश्वर पोखरेल र विष्णु पौडेलभन्दा माथि राख्नु पर्ने काउन्टर प्रस्ताव अघि सारेका छन् ।

आफू निकट नेताहरुसँग भएको भेटमा नेता नेपालले बरियता विवाद आफूलाई अपमानित गर्न ल्याइएको हो भने स्वीकार्य नहुने स्पष्ट बताइसकेका छन् । पछिल्लो समय नेकपामा नेताद्वय झलनाथ खनाल र बामदेव गौतम, ओलीसँग निकट हुन पुगेको चर्चा छ । त्यहीबेला वरियता विवाद झिकेपछि माधवकुमार नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

नेता नेपालले बरिष्ठता टुंगो लगाउने हो भने कम्युनिस्ट आन्दोलनको इतिहास हेर्नुपर्ने बताएका छन् । झापा आन्दोलन र कोअर्डिनेसन केन्द्रको न्युक्लियसबाट गठन भएको नेकपा मालेमा झलनाथ केन्द्रीय सदस्य हुँदा माधव नेपाल पोलिटव्यूरो सदस्य थिए ।

पछि खनाल मालेको महासचिव भए भने नेपाल पोलिटव्यूरोमै रहे । २०४८ सालमा मदन भण्डारी महासचिव हुँदा नेपाल स्थायी कमिटी सदस्य भए भने खनाल केन्द्रीय सदस्य मात्र रहे । खनाललाई पछिमात्र स्थायी कमिटीमा ल्याइएको दावी नेपाल निकट नेताहरुको छ ।

१४ वर्षसम्म नेपाल महासचिव हुँदा खनाल चौथो बरियताका नेता थिए । ०६४ को पहिलो संविधानसभामा एमालेले नराम्रो हार व्यहोरेपछि नेपालले राजीनामा दिए भने २०६५ मा भएको महाधिवेशनबाट खनाल अध्यक्ष भए । नेता नेपाल बरिष्ठ नेता बने ।

त्यसबेला ओली तेस्रो बरियतामा थिए । २०७० सालको नवौं महाधिवेशनपछि ओली अध्यक्ष, त्यसपछिको बरिष्ठ नेता खनाल र तेस्रोमा नेपाल थिए । यसैबीच नेकपा सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । नेकपाले विभाग प्रमुखलाई जनसंगठन इञ्चार्जको जिम्मेवारी नदिने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७