विद्युत प्राधिकरणलाई एक नम्बरको संस्थान बनाउँछौं : ऊर्जामन्त्री पुन

काठमाडौं, १ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये सबैभन्दा उत्कृष्ट बनाउने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पुनले चालू आवमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा गरेका हुन् ।
मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरवको वर्ष भएको बताए।
‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मिहिनेत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको छ’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले भने, ‘अधिकांश संस्थाहरु घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अब यसलाई एक नम्बर संस्थान बनाउनेछौं ।’
पुनले प्राधिकरण पछिल्लो तीन वर्षमा पाएको सफलतालाई गौरवका रुपमा लिँदै आगामी दिनमा एक नम्बरको संस्था बनाउन लागिपर्नुपर्ने बताए । “तीन दर्जनभन्दा बढी सरकारी स्वामित्वका संस्थान सञ्चालनमा छन्, ती संस्थानभन्दा प्राधिकरणलाई एक नम्बरको बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्राधिकरण सञ्चालक समिति र सम्पूर्ण कर्मचारी एकाकार भएर लाग्नुपर्छ । हाल प्राप्त भएको सफलता हाम्रै मिहिनेतमा प्राप्त भएको हो । यसलाई अझै दोब्बर बनाउनुपर्छ ।”
सरकारका मन्त्रालयहरुमध्ये आफ्नो मन्त्रालयलाई एक नम्बरको बनाउने सङ्कल्प गरेको स्मरण गर्दै मन्त्री पुनले सोही आधारमा प्रधानमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतासमेत भएको बताए । मन्त्रालय मातहतको निकाय भएकाले पनि प्राधिकरण अझै खरो ढङ्गले उत्रनुपर्ने मन्त्री पुनको भनाइ थियो ।
प्राधिकरणका ३८ वटा रुग्ण आयोजना आव २०७५/७६ मा सम्पन्न भएको माथिल्लो त्रिशूली थ्री ‘ए’, काबेली करिडोर जस्ता आयोजना पनि लामो समयपछि सकिएको तथ्य पेश गर्दै उहाँले आगामी दिनमा प्राधिकरणले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०७२/७३ मा सञ्चित घाटा रु ३४ अर्ब रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५/७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब २२ करोडमा सीमित गरेको छ । विगत लामो समयदेखि आर्थिक नोक्सानी व्यहोर्दै आएको प्राधिकरणले पछिल्लो तीन वर्षमा उल्लेख्य आर्थिक वृद्धि गरी घाटा मात्रै घटाउन सफल भएको छैन । देशको आर्थिक वृद्धिका लागि सहयोगी भूमिकासमेत निर्वाह गर्न सफल भएको छ ।
आव २०७३/७४ मा रु एक अर्व ५१ करोड, आव २०७४/७५ मा रु दुई अर्ब ८९ करोड र आव २०७५/७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको प्राधिरकणले आगामी आवमा नै सञ्चित घाटालाई घटाउने लक्ष्य राखेको छ । उक्त महत्वाकाङ्क्षी लक्ष्य पूरा गर्न प्राधिरकणले चुहावट नियन्त्रण, विद्युत् खपतमा वृद्धि गराउनुपर्ने प्रमुख आवश्यकता देखिएको छ ।
प्राधिकरणले पछिल्लो तीन वर्षमा विद्युत् चुहावटलाई १० प्रतिशतभन्दा बढीले घटाएर १५।३२ प्रतिशतमा सीमित गरेको छ । चुहावट नियन्त्रण गर्दा मात्रै रु सात अर्ब बराबरको आम्दानी भएको प्राधिकरणको भनाइ छ ।
आव २०७५/७६ मा प्राधिकरणको खुद आम्दानी रु ७३ अर्ब ४६ करोड र सञ्चालन खर्च रु ५८ अर्ब चार करोड रहेको छ । आव २०७४/७५ को सञ्चालन मुनाफा रु आठ अर्ब ९२ करोडको तुलनामा आव २०७५/७६ मा ७३ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ४२ करोड पुगेको छ ।
यस्तै आव २०७५÷७६ मा मात्रै प्राधिकरणले रु १५ अर्ब ६५ करोड सरकारी कोषमा जम्मा गरेको छ । त्यसमा दीर्घकालीन ऋण, रोयल्टी र दीर्घकालीन ऋणको व्याजसमेत रहेको छ । यस्तै प्राधिकरणले कर्मचारीको उपदान, निवृत्तिभरण, औषधि उपचार लगायतका दीर्घकालीन दायित्वको व्यवस्थापनका लागि रु तीन अर्ब ५० करोड बराबर छुट्याएको छ ।