अख्तियारद्धारा घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ


१ भाद्र २०७६, आईतवार
Akhatiyar अख्तियार दुरुपयोग

काठमाडौँ, १ भदौ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको उनमाथि अभियोग छ । आयोगका टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आज पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको उनीहरुलाई आरोप लगाइएको छ ।

आयोगका अनुसार गुप्ताले लिएको घुस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको छ । आरोपीद्वयलाई जनही रु एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको छ ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७