वाणिज्य बैंकमा आगलागी


२ भाद्र २०७६, सोमबार
KA Bharatpur 081919 IMG 4848

चितवन, २ भदौं । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ ।

बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

मोबाइल पसलमा आगलागी
यसैगरी चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७