पुडासैनी मृत्यु प्रकरण : चितवनमा सर्वदलीय वैठकले गर्‍यो ३ बुंदे सहमति


२ भाद्र २०७६, सोमबार
Rabi Fan todfod in Chitwan

चितवन, २ भदौं । नुवाकोटमा पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि अहिले अनुसन्धान चलिरहेको छ ।

पक्राउपछि पाँच दिन थुना आदेश भएका उनीहरु तीन जनालाई तत्काल रिहा गरिनु पर्ने माग गर्दै दिनहुँजसो प्रदर्शन भइरहेका छन् । यस्तै दिनहुँ भइरहेका प्रदर्शनले चितवन तनावग्रस्त बन्दै आएको छ ।

चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा शान्ति सुरक्षा प्रभावकारी बनाउनेसहितका तीन वटा महत्वपूर्ण निर्णय गरेको हो ।

न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्‍याउन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनै पनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिएका छन् ।

उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ । अहिले चितवन शान्त छ ।’

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले अनुसन्धान गरिरहेको छ भने लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७