सरकारको नेतृत्व परिवर्तन हुन्छ : प्रचण्ड

जनकपुर, २ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक सहमतिकै आधारमा सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन् । नेतृत्व परिवर्तन हुने भए पनि नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने विषयमा कुनै शंका नगर्न उनले आग्रह गरे ।
उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको दावी गर्दै एक वर्षको कामलाई समीक्षा गर्दै अगाडि बढ्ने योजनामा आफूहरु रहेको समेत जानकारी दिए ।
अध्यक्ष दाहालले एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
कहिलेकाँही पार्टी एकीकरण नगरेकै भए हुन्थ्यो जस्तो अनुभूति हुने गरेको अभिव्यक्ति दिएर राजनीतिक तरङ्ग सिर्जना गरेका अध्यक्ष दाहालले भने, ‘मेरो भनाइलाई अतिरञ्जित बनाएर समाचार बनाइएको पाइयो । पुरानो एमाले र माओवादी अब एउटै पार्टी भइसकेको छ, एकीकृत पार्टीको म अध्यक्ष हो । यो पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प छैन ।’