‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’


३ भाद्र २०७६, मंगलवार
li

नेपालगञ्ज, ३ भदौं । कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनु भएको हो ? म गरिदिन्छु नि !’ सुरुमा ग्राहकका रूपमा प्रस्तुत हुन गाह्रो भयो ।

संवाददाताले स्कुटर नवीकरण गर्न आएको हुँ भनेपछि उनले एक जना पुरुषलाई डाकिन् । ‘४३ सय रुपैयाँ राजस्व पर्छ । सेवाशुल्क तीन सय रुपैयाँ मात्र। सबैभन्दा सस्तो’, उनले फकाउन खोजिन्, ‘हजुर आफैंले गर्दा धेरै समय लाग्छ । हेर्नुस् त बैंकमा कत्रो लाइन छ । राजस्व शाखामा त्यो भन्दा लामो छ । हजुर १२ बजे लिन आउँदा तयार हुन्छ ।’

१० बजेर ११ मिनेट जाँदासम्म कार्यालयमा काम सुरु भइसकेको थिएन । कार्यालयकोे पूर्व उत्तरतिरको नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा, पश्चिम(उत्तरमा राजस्व शाखा र फोटो खिचाउन सेवाग्राही लाइनबद्ध भइसकेका थिए । लाइनमा सेवाग्राहीभन्दा बढी बिचौलिया थिए । डुडुवा–५ कम्दीका वसन्त यादवलदे भने, ‘बाइक बेचें । पास गर्न आएको छु । साथी बिचौलिया छ । सबै काम उसैले गर्छ ।’

ट्याक्टर बेच्न आएका बर्दिया बढैयाताल गाउँपालिका जमुनीका आइतबारी खटिक दक्षिणतिरको चियापसलमा ढुक्कसँग बसेका थिए । ‘मैले के गर्नुछ । सबै उसैले (बिचौलिया) गर्छ । काम बनेपछि ल्याएर दिन्छु । कतै नजानु भनेको छ’, उनले भने, ‘काम बनेपछि पाँच सय–हजार दिऔंला ।’

कार्यालयमा कर्मचारीसँग आफैंले काम गर्ने सेवाग्राही भेट्नै मुस्किल थियो । अपवाद भेटिए, बर्दिया मधुवनमा क्याम्पसमा अध्यापन गर्ने दिलीप लामिछाने । ‘किन दलाललाई पैसा दिने ? म आफैं काम गर्न सक्छु’, मोटरसाइकल नवीकरण गर्न आएका उनले भने ।

बिचौलियाले भने मनलाग्दी पैसा लिइरहेका थिए । कार्यालयमा बिचौलियाको दररेट एउटै रहेनछ । खरानी रङको ट्राउजर र रातो जर्सी लगाएका एकजना बिचौलिया भन्दै थिए, ‘११ हजार रुपैयाँ लागेको छ । दुई हजार थपेर दिनुस् । बाँकी म मिलाउँला ।’

उनीहरूको कुरा सुन्दा कम्तीमा तीन सयदेखि बढीमा दुई हजार रुपैयाँमा बिचौलियाले असुल गरिरहेका थिए । उनीहरू एकअर्काको पोल खोलाखोल पनि गरिरहेका थिए, ‘काम एउटै गर्ने हो । किन धेरै लिनु ? मलाई त चारपाँच सय भए पुग्छ । उसलाई त पन्ध्र सय रे । कत्ति न जान्ने भए जस्तो’, अर्की महिला बिचौलियाले भनिन् ।

‘तपाईंलाई केही सेवा गर्न सक्छु ?’, युवक बिचौलियाले जिज्ञासा राखे । उनी पैसा दिए लाइसेन्स बनाउन सकिनेमा ढुक्क थिए । ‘एक–डेढ महिनाको समय दिनुस् । तपाईंको काम पक्का ।’
दिउँसो साढे एक बजेतिर संवाददाता ब्लुबुक बोकेर कार्यालयभित्र पस्दा दुई महिला र एक पुरुष बिचौलियासहित तीन जनाबीच ब्लु बुक खोसाखोस चल्यो ।

महिला बिचौलिया कर हिसाब गर्न थालिन् । उनले भनिन्, ‘२६ सय रुपैयाँ मात्र लाग्छ दाइ । चाँडै दिनुस् । बैंक बन्द हुन लागिसक्यो ।’ ब्लु बुक नवीकरण भइसकेको थियो । अर्की महिला बिचौलियाले जरिबाना लाग्दैन, कर मात्र तिर्नुस् भनिन् । फेरि पुरुष बिचौलिया के भयो भन्दै आए । ‘यसको चैतसम्म नवीकरण छ । कर तिर्नु पर्दैन’ भनेर उनी गए । ‘त्यो त हावा हो’ भन्दै फेरि अर्को बिचौलिया थपिए ।

कार्यालयका कर्मचारीले पनि उसैलाई जान्ने बनाए । ‘अहिले तिर्नु पर्दैन । चैतमा आउनु होला भनेर सम्झाए । संवाददाताले लाइसेन्स बनाउन सकिँदैन भनेर ‘जान्ने भन्ने’ बिचौलियासँग जिज्ञासा राख्दा उनले मोटरसाइकल पार्किङमा एकान्त खोज्दै भने, ‘सकिन्छ दाइ तर अहिले सजिलो छैन । पहिले त १०–१० हजारमा कति बनाइयो बनाइयो ।

ट्रायलमा सीसीटीभी जडान गरेपछि र अख्तियार लागेपछि गाह्रो भएको छ’, उनले सान्त्वना दिँदै भने, ‘अहिले पनि बन्छ तर अलि बढी पैसा लाग्छ । १० हजारमा लाइसेन्स बनाउने जमाना गए दाइ । भाउ बढ्यो । कम्तीमा पनि १५ हजार त लाग्छ ।’

उनले मोटरसाइकलको १५ हजार, गाडीको २५ हजार, हेभी गाडीको ३५ हजार लाग्ने सुनाए । उनले लाइसेन्स बनाउने जुक्ति पनि सुनाए, ‘अख्तियार नआएको र पानी परेको दिन म फोन गरुँला ।’ उनले फोन नम्बर लिएर गए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७