ओली-प्रचण्डले असहयोग गरेको भन्दै नेकपा प्रदेश-२ का अध्यक्ष साहले दिए राजीनामा


३ भाद्र २०७६, मंगलवार
Prabhu Sah CPN

काठमाडौं, ३ भदाैं । पार्टी नेतृत्वबाटै असहयोग भएको र निर्वाध काम गर्न नपाएको भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राजीनामा बुझाएको साहको सचिवालयले जनाएको छ ।

२ नम्बर प्रदेशको पार्टी सञ्चालनको विषयलाई लिएर उनी नेतृत्वसँग असन्तुष्ट रहेको स्रोतले जनाएको छ । विशेष् गरी पार्टी नेतृत्वले २ नम्बर प्रदेश कमिटी सञ्चालनमा हस्तक्षेप गरेको, प्रदेश कमिटीलाई भूमिकाविहीन बनाइएको र स्वतः स्फूर्त काम गर्न नपाइएको गुनासो उनले गर्दै आएका थिए ।

प्रदेश कमिटीमा सदस्य चयन र जिल्ला कमिटी एकीकृत गर्दा प्रदेशसँग सल्लाह नगरिएकोमा उनले गुनासो गर्दै आएका थिए । ‘प्रदेश अध्यक्षलाई थाहै नदिई प्रदेशका सदस्य मनोनीत गर्ने, जिल्ला इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष, सचिव तोक्ने आदि काम हुन थालेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो’, स्रोत भन्छ, ‘पार्टी नेतृत्वको हस्तक्षेपका कारण प्रदेश अन्तर्गतका ६ वटा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ समेत हुन सकेको छैन ।’

बारा र पर्साबाहेक अन्य जिल्ला कमिटीका पदाधिकारी र सदस्यको शपथ हुन सकेको छैन । विवादकै कारण प्रदेश कमिटीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण भेला समेत राख्न सकेको छैन । नेकपाले गत मंसिर १२ गते सातै वटा प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७