सचिवहरुको ठूलो संख्यामा सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)


३ भाद्र २०७६, मंगलवार
Cabinet Meeting

काठमाडौं, ३ भदाैं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सचिवहरुको सरुवा गरेको छ । त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी गृहसचिव हुने दौडमा थिए ।

भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिंचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ । उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन ।

पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ । उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ ।

सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन । स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरुको नाम सुनाइएको थियो । त्यसमाथि केही मन्त्रीहरुले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको जनाइएको छ ।

केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरु सरुवाको सूचीमा रहेको स्रोतको दावी छ । प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश–५ का प्रमुख सचिव डा. तीर्थ ढकाल काठमाडौं आउँदै छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकास पाउने राजश्व सचिव लालशंकर घिमिरेको अवकास स्वीकृति पनि सोमबार नै गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७