वरिष्ठ पादरीले यौन दुर्व्यवहार गरेको ठहर, ६ बर्ष जेल सजाय

काठमाडौं, ४ भदौं । क्याथोलिक चर्चका वरिष्ठ पादरी कार्डिनल जर्ज पेललाई अदालतले यौन दुर्व्यवहारको घटनामा दोषी ठहर गरेको छ ।
अष्ट्रेलियाको अदालतले उनलाई यौन दुर्व्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यसविरुद्ध दिएको अपिलमा पनि अदालतले पेलको विपक्षमा निर्णय गरेको हो ।
पेलले आफूमाथि लगाइएका आरोप झुट भएको भन्दै आफ्नो सम्मान कायमै राख्न उच्च अदालतमा गरेको अपिलमा पनि दोषी ठहरिएका हुन् ।
उनले सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्नमा रहेको मुख्य गिर्जाघरमा दुई बालकमाथि यौन दुर्व्यवहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।
गएको वर्षको डिसेम्बरमा जुरीले सर्वसम्मत रुपमा १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिर्जाघरमा यौन दुर्व्यवहार गरेको तथा अर्को पटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो । एजेन्सी