रविन्द्र अधिकारीको क्षेत्रमा साझा उम्मेद्वारको खोजी हुँदै


४ भाद्र २०७६, बुधबार
Election Nirwachan

पोखरा, ४ भदौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेद्वार बन्नुपर्ने बताए । उनले भने, ‘स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।’

साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले राष्ट्रलाई अग्रगमनतर्फ लैजान सक्ने, आफ्नो क्षेत्रको आवश्यकतालाई बुझ्न सक्ने दूरदर्शी र नैतिकवान उम्मेदवार हुनुपर्ने बताए । नेपालको सिङ्गो पहिचान भाषा, धर्म, संस्कृति र कला साहित्यसँग जोडिने हुनाले यस विषयमा पनि उम्मेदवार राम्रो दख्खल भएको हुनु जरुरी हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी नरेश भट्टराईले देशको माटोलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने दूरदर्शी स्वाभिमानी उम्मेदवार उठ्नुपर्ने विचार राखे । ‘नेता भनेपछि श्रद्धाले शिर झुकोस् र जनजनले नाम पुकारोस्, रवीन्द्रको अभाव हामीले महसुस गरेका छौँ, त्यो अभाव मेटाउन सक्ने र राष्ट्रिय छवि बनाएको नेता उम्मेदवार बन्नुपर्छ’, उनले भने । पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारीले सम्भव भएसम्म महिला उम्मेदवार हुनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् व्यक्ति उम्मेदवार बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७