‘हामीले तिरेको करको सम्मान गर, हिलो धुलोमुक्त सडकमा गुड्न देऊ’


४ भाद्र २०७६, बुधबार
road

काठमाडौं, ४ भदौं । ‘हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका सार्वजनिक यातायातमा यस्तो फ्लेक्स झुण्ड्याइएको छ ।

रत्नपार्कबाट साँखु चल्ने यातायातमा चावहिलबाट माथि लागेपछि सडकको दूरावस्थाले यात्रा गर्न मुस्किल हुने गरेको छ । सडक बनाउन थालेको वर्षौं भए पनि काम सकिएको छैन । निर्माण व्यवसायी १०० मिटर सडक बनाएपछि महिनौंसम्म भाग्ने गर्दा पनि कुनै निकायले अनुगमन गरेको देखिंदैन ।

नयाँ शासन व्यवस्थासँगै तीन तहको सरकार बने भनिए पनि आम मानिसलाई असर पार्ने सडकको धुलो र हिलोको अनुगमन गर्ने फुर्सद कसैलाई नभएको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका सञ्जीव पुडासैनीले बताए । चावहिलबाट साँखु पुग्ने सडकमा चारवटा स्थानीय सरकार जोडिन्छन् ।

चावहिलबाट बौद्ध पीपलबोटसम्म काठमाडौं महानगरपालिका, बौद्ध पीपलबोटबाट दक्षिणढोकासम्म गोकर्णेश्वर नगरपालिका, दक्षिणढोकाबाट डाँछीको ब्रह्मखेलसम्म कागेश्वरी मनोहरा नगरपालिका र ब्रह्मखेलबाट साँखुसम्म शङ्खरापुर नगरपालिकाको क्षेत्र पर्छ ।

कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक बनाउन पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँखु–जोरपाटी–चावहिल सडक छिटो बन्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक सरोकार समिति समेत गठन गरेका छन् । समितिले बिहीबार नगरपालिकामा धर्ना कार्यक्रम आयोजना गरेको अध्यक्ष मिलन खड्काले बताए ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल चावहिलबाट साँखुसम्मको धेरै ठाउँमा पूर्वाधार बनिसकेकाले कालोपत्र गर्न मात्र बाँकी रहेको बताए । चावहिलबाट चुच्चेपाटीसम्म खानेपानीको पाइप फेर्ने कार्यक्रम रहेकाले तत्काल कालोपत्र हुँदैन ।

बौद्धबाट पीपलबोटसम्म पूर्वाधार तयार भएर कालोपत्र गर्न सकिने गरी तयार भइसकेको आयोजना प्रमुख अर्यालको जिकिर थियो तर स्थानीयवासीले भने अझै विद्युतलगायत तार, पोल नहटाइएको, बाटो विस्तार गरिएको स्थानमा सवारी साधान पार्क तथा पसलका सामान राखेर अस्तव्यस्त बनाइएको गुनासो गरेका थिए ।

बाटो विस्तारका लागि भत्काइएको स्थान अलपत्र छोड्दा बर्सादका बेला पानी जम्ने, पैदल मार्ग (फुटपाथ) मा हिंड्न नसकिनेलगायत समस्या रहेको निमा शेर्पाको गुनासो थियो । आयोजनाले भने पूर्वाधार तयार भए पनि बर्सादको समय भएर कालोपत्र गर्न नसकिएको जनाएको छ ।

भदौसम्म वर्षा हुने भएकाले असोजपछि कालोपत्र गरिने आयोजना प्रमुख अर्यालले सुनाए । थलीबजार क्षेत्रमा भने सडक साँघुरो भए पनि सर्वोच्च अदालतले मुआब्जा बिना नछुनु भन्ने आदेश जारी गरेकाले जति उपलब्ध छ त्यतिमै कालोपत्र हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७