एनआरएन बेलायत : ठोस एजेन्डा विनाको ‘होहल्ला’

लण्डन, ४ भदौं । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको आगामी नयाँ नेतृत्वका लागि सेप्टेम्बर १४ मा अधिवेशन हुँदैछ । बेलायतमा बसोबास गर्ने करीब दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ ।

करीव दुई दशकअघि स्थापना भएको एनआरएनमा आगामी नेतृत्व लिन विभिन्न समूह लागिपरेका छन् । आगामी नेतृत्व कस्तो आउँछ ? भन्ने आम नेपाली समुदायमा चासोको बिषय बनेको छ । विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आगामी नेतृत्वले ध्यान दिनुपर्ने सामाजिक अभियान्तालगायत नेपाली समुदायहरुले जोड दिएका छन् । नेपालीपनाको झल्को र नेपाली समुदायको हितमा ध्यान दिनुपर्ने कुरालाई महत्व दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

गैरआवासीय नेपालीहरुको हितमा लामो समयदेखि काम गर्दै आएका कृष्ण तिम्ल्सिनाले गैरआवासीय नेपाली संघ सबै नेपालीहरुको संगठन बन्नुपर्नेमा जोड दिएका छन् । बेलायतमा बस्ने सबै नेपालीहरुलाई एनआरएनको छातामा ल्याउन पर्ने उनको भनाई छ ।

‘हामीहरुको धेरै समस्या छन । त्यस्ता यथेष्ट समस्याहरुलाई समाधान गर्नका लागि एउटै छातामा आउन हामी सबैको आवश्यकता र हितमा देखिन्छ,’ तिम्ल्सिनाले भने, ‘त्यसका लागि संस्थामा बस्ने नेतृत्वले मुख्य ध्यान दिनुपर्छ । यसलाई साझा संस्थाको रुपमा विकास गराउनु पर्छ ।’

सबैप्रति मेरो अपनत्व, नागरिकतासम्बन्धी, गोर्खाको समस्या र नेपाली भाषा संस्कार नेपालीपनाको विकास गर्ने खालको कार्यक्रमलाई प्राथमिकता राख्नका लागि आगामी नेतृत्वको ध्यान जानुपर्ने अधिकांशको सुझाव छ ।

नेपाली समुदायको बेलायतमा सघन बसोबास बढ्दै गएपछि गैरआवासीय नेपाली संघको आकर्षण बढदै गएको छ । ३ वटा राज्य परिषद शाखा रहेको गैरआवासीय संघ बेलायतको यसपटक १३ हजार ८९० सदस्यहरु छन् । संघको सदस्यहरुले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्यानल बनाएर चुनावमा जान नपाउने भए पनि घोषित रुपमा आ–आफ्नो पक्षका गुट प्यानल बनाएर गुटबन्दी शुरु भइसकेको अबस्था छ । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा २ जना अध्यक्षको प्रत्यासी छन् । उनीहरुले आ–आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । अध्यक्षका प्रत्यासीहरुमा पुनम गुरुङ र शेरबहादुर सुनार छन् ।

अध्यक्षका प्रत्यासीहरुले आफ्नो उम्मेद्वारीलाई अब्बल बनाउँदै आ–आफ्नो पक्षमा मत सिर्जना गर्न मुद्दा तथा घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरुले संस्थाको हकहितलाई अगाडि लिंदै नेतृत्वमा बाजी मारेर आगामी दुइ बर्षे आफ्नो कार्यकालमा सांगठनिक, संस्थागत र सामुहिक नेतृत्वका लागि आफूलाई अरु भन्दा सक्षम देखाउन पनि होडबाजी नै चलेको छ । उनीहरुले नागरिकता निरन्तरता जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेका छन् ।

त्यति मात्र होइन आफ्नो मातृभूिमप्रतिको दायित्वलाई ध्यानमा राख्दै कसरी मुलुकको हितमा काम गर्न सकिन्छ र मुलुकमा धेरै भन्दा धेरै लगानी भित्र्याएर देश बिकासमा टेवा पु¥याउन सकिन्छ भनेर आ–आफ्नो एजेण्डा नै तयार पारेर अहिले प्रत्यासीहरु लागिपरेका छन् ।

ठोस कामको अभाव
झण्डै दुई दशक गैरआवसीय संघ वेलायत स्थापना भएको वितिसकेको छ । यति लामो समय वितिसक्दा धेरै नेतृत्वहरु फेरिए । धेरै नेतृत्वहरु फेरिए पनि संगठनलाई माथि उठाउने ठोस काम अझै पनि हुन सकेको छैन । बर्तमान अध्यक्ष योगकुमार फगामीले एनआरएनको सदस्य १० हजारमाथि उठाउने भनेर निर्वाचनताका गरेको घोषणालाई यस पटक परिपूर्ति गरेको देखिए पनि त्यसको गुणात्मक नतिजा भने दिन सकेको छैन ।

दुई लाख हाराहारीको संख्यामा रहेको नेपालीहरुलाई गैरआवासीय संघको एउटै छातामा ल्याउने काम, पहल भने कसैले गर्न सकेको छैन । यसमा परम्परागत सोच र नेतृत्वमा सिण्डिकेट, चेतनास्तरमा अझै अभिबृद्धि भएको छैन ।

बेलायतमा यस्तो स्वार्थसिद्ध समूह छन्, जसले युवा र नयाँ पुस्तालाई नेतृत्वमा आउन त परैको कुरा संस्थामा समाहित गर्न चाहँदैन । जसका कारण युवा र नयाँ पिढीहरु संस्थामा आउन बञ्चित छन् । यदि आइहाले पनि पूरानाहरुले ल्याउन चाहँदैन । उनीहरुलाई रोक्ने विभिन्न गतिविधि गरिन्छ ।

गैरआवासीय वहस
सबै विदेशमा बस्ने नेपालीहरु गैरआवासीय हुन् वा होइनन भन्ने बहस पनि यत्तिबेला पेचिलो बनेको छ । बेलायतमा नेपाली समुदायभित्र गोर्खा सैनिक र तिनका परिवारहरुले ठूलो हिस्सा ओगटेका छन् । उनीहरुले आफूलाई गैरआवासीय भन्न रुचाउँदैनन ।

गोर्खा र तिनका परिवारहरुले नेपाली नागरिक रहेर आवासीय भिषामा बेलायत बसिरहेका छन् । जो भोलि नेपालमै जान चाहन्छन् । यस्ता गोर्खा सैनिक परिवार छन् उनीहरुले बेलायती रातो पासपोर्ट समेत लिइसकेका छन् । यसले नेपाली समुदायलाई अन्यौलमा पारिरहेको छ ।

नेपाल सरकारको गैरआवासीय नेपाली ऐन २०६४ सम्बन्धी ऐनमा भने ‘गैरआवासीय नेपाली’ भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ भन्ने स्पष्ट किटान गरेको छ ।

‘नेपाली मूलको विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ भनेर ऐनमा व्यवस्था गरेको छ । त्यसैले सबै बेलायतमा बस्ने सबै नेपालीहरु गैरआवसीय नभएको सामाजिक अभियान्त नरेश काङमाङ बताउँछन् ।

‘बेलायतमा धेरै गोर्खा समुदाय छन् । जो बेलायती सेना भएका र उनका परिवार । बेलायतले गोर्खा भर्ती गर्ने क्रममा नेपाल सरकारसँगको सम्झौतामा नै नेपाली भएर जाने छन् र नेपाली भएर फर्कने छन् भने स्पष्ट उल्लेख गरिसकेको अवस्था छ ।

त्यसैले बेलायतमा बस्ने सबै नेपाली समुदाय गैरआवासीय नेपाली होइन’ काङमाङले भने, ‘विदेशी नागरिकता लिएको अवस्थामा मात्रै गैरआवासीय हुन्छन् । नेपाली नागरिकताको आधारमा अन्य हिसावमा बिदेशमा बस्ने सबै नेपाली गैरआवासीय नभई विदेशमा बस्ने नेपाली नागरिक हो ।’

तर गैरआवासीय संघले भने विदेशमा बस्ने सवैलाई एउटै छातामा ल्याउनका लागि गैरआवासीय सदस्य हुन योग्य ठान्दै आएको छ । यसले गैरआवासीय संघमा धेरैको सहभागिता हुनुपर्ने भए पनि धेरै यसको छाताभित्र आउन सकेका छैनन् ।

धेरै छुटे
नेपाली मुलका छाता संगठनको रुपमा गैरआवासीय संघ भए पनि धेरै नेपाली समुदायहरु यसको छाताभित्र रहेका छैनन् । बेलायतमा दुई लाखको हाराहारीमा नेपालीहरुको जनसंख्या रहे पनि १४ हजारको हाराहारीमा सदस्यहरु छन् । समुदायगत उपस्थिति हेर्दा नेपाली समुदायको बसोवासको रुपमा हेर्दा ज्यादै कम संख्या हुन् ।

बेलायतमा समुदायगत रुपमा उपस्थिति ठुलो हिस्सा भए पनि गैरआवासीय संघमा भने कम सहभागिता देखिएको छ । यस्तो हुनुमा धेरै गोर्खा समुदायहरुले आफूलाई गैरआवासीय मान्दैन । अर्को गैरआवासीय संघ नेतृत्वले संस्थाप्रति आकर्षण गर्न नसक्नु हो ।

जुन जोगी आए पनि कानै चिरेको
गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिंदै जाँदा निर्वाचनको बहस गर्माएको बेला आगामी नेतृत्वमा को ठीक भन्दा पनि नेतृत्वमा जो आए पनि उस्तै रहेको अधिकांशको ठम्याई छ । नेतृत्व क्षमता, कार्यशैली र समग्र नेपाली समुदायको अवस्थालाई विश्लेषण गर्दा नेपाली उखान ‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तो रहने बौद्धिक जमातको बुझाई छ । चुनावको बेला अधिकांश उम्मेदवारहरूले बहुमहत्वकांक्षी प्रतिवद्वता गरे पनि कसैले पूरा गरेका छैनन् । अधिकांश प्रतिवद्वताहरू चुनावमा नै सीमित हुने गरेका छन् ।

उम्मेद्वारहरूले गरेको प्रतिवद्वता नेतृत्वमा पुगे पनि गर्न सक्ने ल्याकत कसैमा नभएको समाजसेवी ज्ञानबहादुर राई बताउँछन् । अहिले पनि पूरानै समस्याले नछोडने उनको भनाई छ । हिजो जस्तो थियो भोलिका दिनमा पनि त्यसरी नै चल्ने छ । उनले भने, ‘सानो झुण्डमा रमाउने हामी नेपालीको समस्या छ । हामी सामुहिक काम गर्नुपर्छ भन्ने र ठूलो सोचका साथ अगाडि बढनुपर्छ भन्ने क्षमता कसैमा छैन ।’

‘सानो कुरामा सुधार गर्नुपर्छ भन्ने सुझाव समेत हामी मनन गर्न नसक्ने हामी नेपाली समुदायको छ । त्यसैले हाम्रो संस्थागत चरित्र नै छैन’, समाजसेवी अम्बर गुरूङ बताउँछन् । ‘बेलायतमा बस्ने धेरै नेपालीहरू आफूलाई बुज्रक ठान्छौ । त्यही चेतनाले हामी माथि उठ्न सकेका छैनौं’, गुरूङले भने ।

नेपाली समुदायमा आलोचनात्मक चेतना नभएको नेपाली चिन्तक शुक्र तामाङ बताउँछन् । आलोचनाले हामीलाई सुधार गर्ने हो तर हामी सुन्दैनौ । नेपालीको चेतना आत्माप्रशंसा केन्द्रीत मात्रै छ त्यसैले सुधार हुन एक पुस्ता पछि मात्रै हुने तामाङको मत छ ।

प्रतिक्रिया दिनुहोस्