१८ वर्षपछि साधारणसभा, एउटा धारा जडान गर्न ४० हजार खर्च


४ भाद्र २०७६, बुधबार
drinking water

भक्तपुर, ४ भदौं । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महिनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिका समेतले निर्देशन दिएको छ ।

विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घर परिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले एक महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको हो ।

सूर्यविनायक–१ सिरुटार वडा कार्यालयले आज आह्वान गरेको उपभोक्ता भेलामा सहभागी स्थानीय बासिन्दा एवं प्रदेश नं ३ का प्रदेश सांसद शशीजङ्ग थापा, वडाध्यक्ष सानुकाजी कायस्थ, समितिका पदाधिकारी, जनप्रतिनिधि एवं उपभोक्ता सहभागी भेलाले आगामी असोज १० गतेभित्र समितिलाई साधारणसभा गर्न अन्तिम समय दिएको हो ।

असोज १० गतेभित्र साधारणसभा नगरे वडा कार्यालयले उक्त समिति विघटन गरी नयाँ समिति गठन गरेर अनियमितताबारे छानबिन गर्ने सर्तमा सबै सहमत भएका छन् । खानेपानी समितिमा रहेका पदाधिकारीमध्ये कोषाध्यक्षसहित दुई सदस्यको मृत्यु भइसकेको र हाल अध्यक्ष, सचिव र सदस्यसहित चार जना मात्रै रहँदा समितिभन्दा कर्मचारी हाबी हुँदा अनियमितता भएको र कर्मचारीले रु १० हजारमा जडान गर्नुपर्ने धारालाई ४० हजारसम्म लिएर जडान गर्ने गरेको भन्दै छलफलमा समितिको व्यापक आलोचना भएको थियो ।

भेलामा सांसद थापाले काकाकुल रहेको सिरुटारमा आफू गाविस अध्यक्ष हुँदादेखि खानेपानी ल्याउन पहल भएको बताउँदै आएको खानेपानी पनि अव्यवस्थित हुँदा कतै वर्र्षौंदेखि पानी नगएको र कतै जथाभावी छाडिएको पाएको बताए ।

खानेपानीका कर्मचारीबाट व्यापक अनियमितता भएको, एउटै धारा जडान गर्न कर्मचारीले रु एक लाखसम्म मागेको गुनासो आफूमा आएको बताउँदै भेलाको निर्णयानुसार असोज १० गतेभित्र साधारणसभा गर्न समितिलाई निर्देशन दिए ।

वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले असोज १० गतेभित्र समितिले साधारणसभा नगरे असोज ११ गते नगरपालिकाले हस्तक्षेप गर्ने र समिति सञ्चालन गरेर अनियमितताबारे छानबिन गरिने निर्णय भएको बताए ।

समितिका अध्यक्ष अच्युत मिश्रले आफूले निकै दुःख गरेर खानेपानीको व्यवस्था गरेको बताउँदै केही कर्मचारीको बेइमानीले समस्या आएको बताए । उनले समितिको अडिट भइरहेको बताउँदै भेलाले गरेको निर्णयानुसार असोज १० गते अगाडि नै साधारणसभा गरेर नयाँ समिति गठन गर्ने बताए ।

यसअघि पनि समितिले एक वर्ष अघि डिभिजन खानेपानी कार्यालयमा भेला गरी जनप्रतिनिधिको रोहबरमा ४५ दिनभित्र साधारणसभा गर्ने भनिए पनि हुन सकेन । साधारणसभा नहुँदा सरकारी तथा गैरसरकारी संस्थाले बजेट नदिंदा थप खानेपानीको व्यवस्था गर्न र पानी शुद्धीकरण समेत गर्न सकिएको छैन ।

यस क्षेत्रमा चार वर्षदेखि सिरुटार उपयोगी चोक क्षेत्रमा पानी आएको छैन भने केही स्थानमा सातामा केही दिन र केही स्थानमा तरकारीमा लगाउन समेत पुग्ने गरी पानी वितरण गर्दै आएको स्थानीवासीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७