‘क्लिनफिड’ तत्काल लागू गर्ने व्यवस्थासहित विज्ञापन विधेयक पारित


४ भाद्र २०७६, बुधबार
TV

काठमाडौं, ४ भदौं । संसदको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड लागू गर्ने व्यवस्थासहित आज (बुधबार) विज्ञापन विधेयक पारित गरेको छ ।

अब यो विधेयक आएसँगै विदेशी च्यानलहरुले आफ्ना कार्यक्रम नेपालमा विज्ञापनरहित रुपमा प्रशारण गर्नुपर्नेछ । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था गरेको थियो ।

तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर बुधबार उक्त विधेयक पारित गरेको हो । तर, ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय उपलब्ध गराइएको छ । ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसपछि अब विदेशी च्यानलले नेपालमा बिज्ञापनरहित सामाग्री प्रशारण गर्नुपर्नेछ । विज्ञापन गर्नैपर्ने भए नेपालमार्फत विज्ञापन दिनुपर्नेछ । यो ब्यवस्था लागू नगर्न सरकारलाई ठूलो दवाव आएको थियो । विदेशी दवावका बावजुद यो विधेयक पारित भएको छ । यसले नेपालमा अर्बौ विज्ञापनको रकम भित्रिने तथा नेपालमा रोजगारी सिर्जना हुने अपेक्षा राखिएको छ ।

यो व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू नहुने भएको छ । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्ने विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुनेछ । विज्ञापन विधेयकले सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था पनि गरेको छ । सबै प्रकारका सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत वितरण हुने व्यवस्था गरिएको छ ।

ऐन विपरीत कसैले विज्ञापन गरेको पाइएमा बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सक्ने व्यवस्था पनि राखिएको छ । सजाय हुने कसुर सम्बन्धी शुरु कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहलाई दिइएको छ ।

सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्नेलगायतका व्यवस्था पनि समितिले थप गरेको छ । अर्थात, यो ऐन लागू भएपछि सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा पनि विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७