कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?


४ भाद्र २०७६, बुधबार
kp oli

काठमाडौं, ४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि दोस्रो पटक भोली अर्थात् ५ भदौ २०७६ मा उपचारका लागि सिंगापुर जादैँछन् ।

छोटो समयमै उपचारको लागि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जाने समाचारले सबैको ध्यान तानेको छ । यसअघि साउन १८ मा त्यहाँ गएका ओली नौ दिनको उपचार पछि २७ गते स्वदेश फर्किएका थिए ।

सबैको चासो छ, ‘यति छोटो समयमै किन जादैछन्, प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ ?’ आम जनतामा आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य बारेमा चासो हुनु स्वभाविक छ । तर चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य बारेमा ठोस सूचना नदिदा भ्रम र अनुमान हाबी भएको छ ।

सायद यही चासोको कारण होला प्रधानमन्त्री ओलीले बुधबार आयोजित कार्यक्रममा आफ्नो स्वास्थ्यको बारेमा प्रष्टीकरण दिए । प्रधानमन्त्री ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताए । उनले भने,‘अचम्म लाग्छ ! विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भन्छन् यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’

ओलीले अर्को निर्वाचनको सामना गर्न तयार भएर बस्न समेत चेतावनी दिए । उनले भने,‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसेहुन्छ । आउँदो चुनाव टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ । म अझै अझै १५ बर्ष अखडामा रहन्छु ।’

कस्तो छ स्वास्थ्य ?

PM KP Sharma oli Nepal
बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री

स्रोतका अनुसार १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर जान लागेका हुन् । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले केही समय बस्न भनेका थिए ।

मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका थिए । तर, प्रधानमन्त्री ओली देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने वचन दिएर चिकित्सकसँग बिदा भएका थिए ।

त्यहाँको अस्पतालले यसअघि खाँदै आएको औषधी परिवर्तन गरेर नयाँ प्रयोगमा ल्याएकाले त्यसको साइड इफेक्ट हेर्न यसपटक पुनः सिंगापुर जानु परेको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा कति दिन लाग्ने भन्ने टुंगो नभएकाले फर्किने तालिका सार्वजानिक गरिएको छैन ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेका अनुसार प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । उनी भन्छन्, ‘अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ अहिले प्रधानमन्त्रीको पनि त्यही भएको हो ।’

प्रा.डा काफ्लेले सञ्चार माध्यमलाई बताए अनुसार मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ ।

त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ । अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । अहिले प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला हो भनेर चिनेपछि समस्या देखिएको हो ।

एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने प्रा.डा काफ्ले बताउँछन् । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिने उनको भनाई छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्ने र एक–दुईपटकमा सुधार नभए थप प्रयास नगरिने उनको भनाई छ । तर, मिर्गौलामा सुधार भए/नभएको दुई सातामै स्पष्ट हुने उनी बताउँछन् ।प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७