प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच एक घण्टा लामो बैठक


५ भाद्र २०७६, बिहीबार
oli n jaisankar2019 08 22 06 08 49

काठमाडौं, ५ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग एकान्त वार्ता गरेका छन् ।

ओली–जयशंकर वार्ताले दुई देशबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दुई घण्टा पछि धकेलिएको थियो । अपराह्न ३ बजेलाई तय भएको आयोगको बैठक ५ बजे मात्रै शुरु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको वार्ता पूर्व निर्धारित नरहेको संकेत विदेशमन्त्री जयशंकरले ट्वीटरमा दिएका छन् । व्यस्तताबीच प्रधानमन्त्री ओलीले समय दिएकोमा आफूलाई सन्तोष लागेको जनाएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र विस्तृत छलफल भयो । अत्यन्त व्यस्तताबीच र पूर्व निर्धारित व्यस्तताबीच मलाई स्वागत गर्नुभएकोमा प्रशंसा गर्छु,’ जयशंकरले ट्वीट गरेका छन् ।

विगतमा संयुक्त आयोगको बैठक सम्पन्न भएपछि मात्रै विदेशमन्त्रीहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने चलन थियो । पाँच वर्षअघि भएको आयोगको तेस्रो बैठक सकिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेकी थिइन् ।

प्रधानमन्त्रीसँग एकान्त वार्ता गरेपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरबीच भेटवार्ता भयो । संयुक्त आयोगको बैठकअघि ज्ञवाली र जयशंकरबीच होटेल याक एण्ड यतीमा करिब १५ मिनेट भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीसँगै दुई देशबीचका सबै विषयमा छलफल भएका कारण परराष्ट्रमन्त्रीद्वयबीचको भेटवार्ता सामान्य शिष्टाचारमा सीमित रहेको कूटनीतिक स्रोतले बताएको छ ।

बलियो सहकार्यमा जोड
भारतीय विदेश मन्त्रालयका अधिकारीसहित बालुवाटार पुगेका जयशंकरले प्रधानमन्त्रीसँग एकान्त वार्ताअघिको औपचारिक शिष्टाचार भेटमा नेपालको स्थिरताप्रति सन्तोष व्यक्त गरेका छन् ।

उनले दुवै देशका बलियो सरकारबीच सहकार्यमा जोड दिएका थिए । जयशंकरले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन् । प्रधानमन्त्री ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै छन् ।

इपिजी रिपोर्ट बुझ्ने सन्देश
प्रधानमन्त्री ओली र जयशंकरबीच १९५० को सन्धि पुनरावलोकन गर्ने नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनबारे पनि छलफल भएको थियो । ‘जयशंकरले उपयुक्त समयमा प्रतिवेदन बुझ्ने सन्देश दिनु भएको छ,’ प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले भेटवार्तापछि पत्रकारहरूसँग भनेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरू भने यो विषयमा बोल्नै चाहँदैनन् ।

पुनर्निर्माण र हुलाकी राजमार्गमा सहयोग
संयुक्त आयोगको बैठकअघि भारतले पुनर्निर्माणका लागि दिने घोषणा गरेमध्ये दुई अर्ब ४५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भारतीय राजदूत मञ्जीवसिंह पुरीले चेक हस्तान्तरण गरेका छन् ।

भारतले हुलाकी राजमार्गका लागि ८० करोड रुपैयाँको चेक पनि हस्तान्तरण गरेको छ । खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीमा पनि हस्ताक्षर भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७