भारतका पूर्व अर्थमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ


५ भाद्र २०७६, बिहीबार
P Chidambaram Arrested

नयाँदिल्ली, ५ भदौं । भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने जनाइएको छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ । आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अग्रिम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो ।

मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए ।

मंगलबारदेखि उनी सम्पर्कमा थिएनन् । तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे । उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए ।

उनले भने, ‘म मेरो वकिलसँग बसेर आफ्ना कागजात तयार पार्दै थिएँ । तर मलाई लुकेर बसेको भने आरोप लगाइयो । सत्य त के हो भने मैले कानुनसँग सुरक्षा मागिरहेको थिएँ ।’

यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन । पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए । उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो । तर, चितम्बरमको घरको ढोका खुलेन ।

टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो । केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी समेत गरे थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७