लालबाबु पण्डितको यस्ताे छ दैनिकी


५ पुष २०७४, बुधबार
Lalbabu Pandit1

लालबाबु पण्डित सादगी नेताका रूपमा चिनिन्छन् । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका शेखर कोइरालालाई पराजित गरेपछि उनको क्रेज थप बढेको छ । सामान्य प्रशासनमन्त्री बन्दा ‘पिआर काण्ड’का कारण चर्चामा आएका लालबाबु साइकल र सार्वजनिक सवारीमा सयर गर्ने कुराले पनि एकताका मिडिया तातेको थियो । उसो भए लालबाबुको दैनिकीचाहिँ कस्तो छ त ?  विश्वास खड्काथोकीले सोधेका छन् :Lalbabu Pandit1

लालबाबु पण्डित बिहानको ५ बजे उठिसक्छन् । बिहानको नित्यकर्म सकेपछि मर्निङवाकमा निस्कन्छन् । गर्मीको समयमा साढे ५ बजेतिर मर्निङवाकमा निस्कने लालबाबुको सेड्युल जाडो महिनामा भने अलि प्रभावित बन्छ । यद्यपि राजनीतिज्ञ भएका कारण हरेक दिन मर्निङवाकमा निस्कने फुर्सद नमिल्न पनि सक्छ ।

४५ मिनेटको मर्निङवाकपछि उनी डेरा फर्कन्छन् र उनका लागि डेरामा दूध र कन्फ्लेक्स हाजिर हुन्छ । उनी कहिलेकाहीँ सुगर फ्री बिस्कुट खाजाको रूपमा लिन्छन् । सुगर फ्री खानुको कारण उनी सुगरको प्यासेन्ट हुन् ।

बिहानको खाजा खाँदै नेट हेर्ने बानी छ, उनको । समाचारमा अपडेट हुनका लागि इन्टरनेटको प्रयोग गर्छन्, उनी । फेसबुक पनि चलाउँछन् तर कसैलाई रिप्लाई भने दिँदैनन् ।

उनको कहिलेकाहीँ बाहिर बिहानको समय त्यति धेरै कार्यक्रम पर्दैन । त्यसैले प्रायः खाना खाएरै डेराबाट बाहिर निस्कन्छन् । बिहानको साढे ९ देखि १० बजेसम्म उनले खाना खाइसक्छन् ।

लालबाबुले बुझाए निर्वाचन खर्च विवरण – इमानले जिते चुनाव

उनको खानामा त्यस्तो फेभराइट केही छैन । दाल, भात, तरकारी नै खान्छन् । उनी माछाका भने सौखिन छन् । मासुमा चिकेन प्रयोग गर्छन् ।

उसो त कहिलेकाहीँ आफैँ खाना पकाउँछन्, लालबाबु । कहिलेकाहीँ श्रीमतीलाई पनि सघाउँछन् । लालबाबु भन्छन्, ‘फुर्सद भएसम्म खाना पकाउँछु तर मैले पकाएको खाना आफैँलाई मात्र मिठो हुन्छ।’

अहिले पनि उनीसँग साइकल छ । साइकलमै बाहिर निस्कन्छन् । कुनै कार्यक्रममा ढिला हुन थाल्यो भने कसैले मोटरसाइकलमा लिन पुग्छन् । नत्र सार्वजनिक गाडी नै प्रयोग गर्छन् । भन्छन्, ‘पहिला केही समय मोटरसाइकल सिकेको थिएँ । लामो समयसम्म किन्नै सकिएन । लुटलाट, ठगठाग गरेर गाडी किन्नेतिर पनि लागिएन । सार्वजनिक सवारीमा हिँड्दा पनि आनन्द छ । कुनै पश्चाताप छैन । कहिलेकाहीँ छिटो पुग्नुपर्‍यो या अप्ठ्यारै अवस्था आएमा ट्याक्सी पनि प्रयोग गर्छु ।’ यसरी उनको दिउँसोको समय भेटघाटमै बित्छ ।

दिउँसोको खाजामा भने रोटी, तरकारीको प्रयोग गर्छन् । कहिलेकाहीँ चना पनि खान्छन् । रेस्टुरेन्ट आइटम भने कहिल्यै प्रयोग गर्दैनन् ।

बेलुकी डेरामा कुन समय फर्कने भन्ने टुंगो हुँदैन । यद्यपि खास काम नभए ६ देखि ७ बजेसम्म फर्किसक्छन् । कहिलेकाहीँ भने रातिको ११–१२ पनि बज्न सक्छ ।

घरमा फर्किसकेपछि परिवारलाई समय दिन्छन् । नियमित अध्ययन गर्छन् । उनको इन्टरनेटबाट समाचारमा अपडेट हुने बानी छ । कहिल्यै टेलिभिजन हेर्दैनन् ।

लालबाबुको डिनर बेलुकीको ८ देखि ९ बजेसम्ममा भइसक्छ र रातको साढे ९ सम्ममा सुतिसक्छन् ।

नयाँ पत्रिका दैनिकबाट

याे पनि पढ्नुहाेस्

लालबाबुले बुझाए निर्वाचन खर्च विवरण – इमानले जिते चुनाव

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७