कम्युनिष्टहरुमा पनि सत्तामा पुगेपछि राजा-महाराजाकै शैली देखिन थाल्यो : प्रचण्ड

‘पूर्वी युरोपमा जनताले राजा-महाराजालाई लखेटे जस्तै दिन नेपालमा पनि आउन सक्छ’


६ भाद्र २०७६, शुक्रबार
Prachanda

काठमाडौं, ६ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरुमा पनि सत्तामा पुगेपछि राजा महाराजाको जस्तो शैली र लक्षण देखिन थालेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुले यसलाई बेलैमा नसच्याए पूर्वी युरोपमा जस्तो जनताले नै राजा महाराजा लखेटे जस्तो दिन नेपालमा समेत आउन सक्ने चेतावनी दिए । सोभियत संघलगायतमा कम्युनिष्ट सत्ता ढल्नुको कारण प्रष्ट्याउँदै उनले बुर्जवाहरुले कम्युजिष्टहरुसँग लड्न नसक्ने तर, सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाई दिने क्षमता राख्ने जानकारी गराए ।

उनले भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’ उनले थपे, ‘हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ त्यस्तै देखिएको छ ।’ यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने बैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृति उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको अध्यक्ष प्रचण्डले बताए ।

उनले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी समेत गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डले आरोप लगाए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताएका छन् । उनले भने, ‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं ।’

‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिई दिनुपर्ने अवस्था उत्पन्न भएको उनले बताए । प्रचण्डले यसलाई सच्याउनुपर्नेमा जोड दिए । बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो । वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिंदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७