अब शिक्षकको लिखित परीक्षा २०० पूर्णांकको, प्रारम्भिक परीक्षामा ५० नम्बर अनिवार्य


७ भाद्र २०७६, शनिबार
Teacher 3 1

काठमाडौं, ७ भदौं । स्थायी शिक्षक हुनका लागि प्रारम्भिक परीक्षामा अनिवार्य उत्तीर्ण गर्नुपर्ने भएको छ ।

प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरु मात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो ।

शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुने प्रस्ताव गरिएको छ । यसअघि शिक्षकहरुको एक सय पूर्णांकको लिखित र २५ पूर्णांकको मौखिक परीक्षा हुन्थ्यो ।
ओएमआर कपीमा परीक्षा, गलत उत्तरको नम्बर काटिने

सामान्य भनिने प्रारम्भिक परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछन् । एक सय पूर्णांकको सामान्य परीक्षा मेशिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ । सामान्य परीक्षामा कम्तिमा ५० अंक ल्याएर पास भएकाहरु मात्र दोस्रो चरणको लिखित परीक्षा (विषगत) मा सहभागी हुन पाउने छन् । एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक कटिने छ ।

वस्तुगतपछि एक सय पूर्णांककै विषयगत परीक्षा हुनेछ । वस्तुगत परीक्षामा पास भएकाहरुको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ ।

यसरी कूल दुई सय पूर्णांकको लिखित परीक्षामा धेरै अंक ल्याउने प्रतिष्पर्धीहरु अन्तिम चरणको परीक्षा अर्थात् अन्तरवार्तामा सहभागी हुनेछन् । अन्तर्वार्तामा पाएको नम्बर समेत जोड्दा जसले धेरै अंक ल्याउँछ उही नियुक्तिको लागि सिफारिस हुने छ ।

शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले यो प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको जानकारी दिए । उनले भने, ‘हामीले त पठायौं, उताबाट पास भएर आउन बाँकी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७