‘गेम चेञ्जर’ आयोजनामा हात हाल्दै प्राधिकरण, १० आयोजना अगाडि बढ्दै

प्राधिकरणका कर्मचारीको शेयरमा आयोजना


७ भाद्र २०७६, शनिबार
bidhyut

काठमाडौं, ७ भदौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ ।

माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाविहीन बन्दै गएको भन्दै बेला–बेलामा आलोचना पनि गरिन्छ ।

तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेञ्जर’ आयोजनाका रुपमा समेत लिएको छ ।

प्राधिकरणले ती आयोजना भने जनताको लगानी समेत रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरेको छ । सहायक कम्पनीमार्फत् आयोजना निर्माण गरिरहेको प्राधिकरणले आगामी दिनमा पनि सोही रणनीतिका आधारमा परियोजना निर्माण गर्ने भएको छ ।

रुग्ण आयोजना पालेर बसेको, नयाँ आयोजना नभएको, विद्युत् उत्पादनभन्दा पनि बिक्री–वितरणमामात्रै सीमित भएको भन्नेजस्ता आलोचना खेपिरहेको प्राधिकरणले नयाँ आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको हो । आगामी चैत मसान्तसम्म हालसम्मकै ठूलो आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण सम्पन्न हुनेछ ।

कालीगण्डकी निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न हुन लागेको ४५६ मेगावाट क्षमताको आयोजनाले आर्थिक समृद्धिको पक्षमा समेत ठूलो र महत्वपूर्ण स्थान राख्ने छ । सोही कम्पनीले नै दोलखाको रोल्वालिङ खोलामा २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।

सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका क्रममा रहेको छ । आयोजनाको बोलपत्र दस्तावेज तयार पार्नेक्रम अन्तिम चरणमा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् कम्पनीले प्रवद्र्धन गर्न लागेको १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।

अर्धजलाशयुक्त आयोजनाकारुपमा रहेको तनहुँ सेती आयोजनाले २२० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा विद्युत्गृह एवं ’हेडरेस टनेल’ को काम अघि बढेको छ ।

यस्तै, सोही आयोजनाले १०४ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पनि विस्तृत इन्जिनियरिङ डिजाइन गर्ने कामसमेत प्रारम्भ भएको छ । यस्तै, प्राधिकरणले सहायक कम्पनीमार्फत् ३० मेगावाट क्षमताको इखुवा खोला जलविद्युत् आयोजना पनि निर्माणमा जाने तयारी गरेको छ ।

प्राधिकरणले गेम चेञ्जर परियोजनाकारुपमा १०६० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीले प्रवर्धन गर्ने सो आयोजनाको हाल विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र तयार पार्ने काम परामर्शदाताले गरिरहेको छ ।

त्यस्तै, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य समेत समानान्तर रुपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ । विश्व बैंकको अगुवाइमा अन्य दातृ निकायले सो आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले समेत प्राथमिकताप्राप्त आयोजनाकारुपमा अगाडि बढाउने सोच राखेको छ । यस्तै, जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजनाको निर्माण कार्य जारी छ । आयोजनामा नेपाली नागरिकबाट समेत लगानी जुटाइसकिएको छ । म्याग्दीमा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको रघुगंगगा आयोजनाकोसमेत निर्माण शुरु भइसकेको छ ।

‘मेघा’ परियोजना अगाडि बढाउने लक्ष्यमा अगाडि बढेको प्राधिकरणले ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजनाको समेत हाल विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको कागजात तयार पार्ने काम जारी छ । सो कार्य सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । आयोजनालाई प्राथमिकतामा राखिएकाले प्राविधिक तयारी पूरा भएपछि निर्माणमा लैजाने तयारी गरिएको छ ।

प्राधिकरणका कर्मचारीको शेयरमा आयोजना

प्राधिकरणका कर्मचारीको सेयरमा जलविद्युत् आयोजना निर्माण गर्ने क्रम समेत शुरु भएको छ । प्राधिकरणमा हाल करिब १० हजार कर्मचारी कार्यरत् छन् । उनीहरुको शेयर लगानीमा आयोजना निर्माण गर्ने लक्ष्यका साथ दुईटा आयोजना तयारी हालतमा रहेको छ ।

कुल ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना र १८.२ मेगावाट क्षमताको मोदी ए आयोजना सोही ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ । ती आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भएको छ ।

ती आयोजनामा लगानीका लागि आवश्यक ढाँचा तथा प्रक्रिया समेत शुरु भइसकेको छ । प्राधिकरणमा कार्यरत् कर्मचारीको मागका आधारमा नै ती दुई आयोजना निर्माणमा लैजाने तयारी गरिएको हो ।

तामाकोशी पाँचौंको युद्धस्तरमा तयारी
यस्तै, प्राधिकरणले तामाकोसी पाँचौको युद्धस्तरमा तयारी गरेको छ । कूल १०० मेगावाट क्षमताको सो आयोजना माथिल्लो तामाकोशीको ‘क्यासकेड’ आयोजनाका रुपमा रहेको छ ।
माथिल्लो तामाकोशीको ‘टेलरेस’बाट निस्केको पानीलाई ८ किलोमिटरभन्दा लामो सुरुङमा हालेर विद्युत् उत्पादन गर्ने योजनामा प्राधिकरण लागेको छ । यद्यपि, माथिल्लो तामाकोशीको ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले भने आयोजना माथिल्लो तामाकोशीलाई नै दिँदा उपयुक्त हुने सुझाव दिएको छ ।

आयोजनाको विस्तृत डिजाइन तथा बोलपत्र तयार पार्ने काम सम्पन्न भइसकेको छ । आयोजनामा चिनियाँ स्वामित्वको एसियन इन्फास्टकचर बैंकको अगुवाइमा ऋण लगानी गर्ने प्रतिबद्धता प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले केही ठूला आयोजना निर्माण शुरु गर्ने तयारीमा आफूहरु पुगेको बताए । विगतमा समस्यामा परेका आयोजना सम्पन्न भइसकेका अवस्थामा नयाँ आयोजनाको खोजी भइरहेको उनको भनाइ छ ।

त्यसो त सरकारले जनताको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताको आयोजनाको समेत प्रक्रिया शुरु गरिसकेको छ । त्यसमध्ये माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७