मदिराले अनियन्त्रित भएर ‘क्रु मेम्बर’लाई अभद्र व्यवहार गरेपछि एनआरएन अध्यक्ष भट्ट ‘अफ लोड’


७ भाद्र २०७६, शनिबार
Bhawan Bhatta

काठमाडौं, ७ भदौ : मदिराले अनियन्त्रित भएर ‘क्रु मेम्बर’ (उडानदल सदस्य)लाई अभद्र व्यवहार गरेपछि गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई उड्न लागेको जहाज रोकेर फिर्ता ‘अफ लोड’ पठाइएको छ ।

सिल्क एयरको नियमित उडानबाट शनिबार सिंगापुर जान लागेका अध्यक्ष भट्ट सहितको टोलीले उडानदलका सदस्यहरुलाई अभ्रद व्यवहार गरेपछि प्रहरीको सहयोगमा जहाजबाट निकालेर फिर्ता पठाइएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षास्रोतका अनुसार उडान नम्बर SLK413 र एमआइ ४१३ नम्बरको कल साइन भएको सिल्क एयरको विमान काठमाडौबाट सिंगापुर उड्नलाई अन्तिम तयारी भइसकेको थियो । विमानको ढोका समेत लागिसकेको थियो । तर, विमान उड्ने बेला मदिरबाट अनियन्त्रित भएका एनआरएन अध्यक्ष भट्ट र भट्टसँगै यात्रामा रहेका सनत न्यौपानेले उडानदलका सदस्यमाथि अभद्र व्यवहार गरे ।

यसपछि चालक दलका सदस्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षालाई जानकारी दिएर जहाजबाट निकाल्न सहयोग मागे । उड्न लागेको विमानमा पुन भर्‍याङ लगाएर उनीहरुलाई ‘अफ लोड’ गरिएको हो ।

स्रोतका अनुसार उनीहरुलाई ‘अफ लोड’ गर्ने भएपछि आफूहरु ‘ठुलो मान्छे’ भएको भन्दै उडानदल सदस्यलाई समेत थर्काएका थिए । प्रहरीको सहयोगमा ‘अफ लोड’ गरिदा प्रहरीलाई समेत उनीहरुले अभ्रद व्यवहार गरेको सुरक्षास्रोतले बतायो । सिल्क एयर भने उनीहरुलाई ‘अफ लोड’ गरेर निर्धारित समयभन्दा ढिलो सिंगापुर उडिसकेका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७