शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा, शैक्षिक योग्यतालाई थप अंक


८ भाद्र २०७६, आईतवार
TEACHER 875

काठमाडौं, ८ भदौं । सरकारले सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रियामा कडाइ गरेको छ । यसअघि भएको व्यवस्थाले प्रतिस्पर्धी व्यक्ति शिक्षण पेसामा आउन नसकेको गुनासो बढेपछि नयाँ व्यवस्था ल्याइएको हो ।

नयाँ व्यवस्था भएको शिक्षक सेवा नियमावलीको दशौं शंसोधन मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो । शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा केही समयअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो । स्थायी शिक्षकका लागि प्रतिस्पर्धा गर्नेले दुई चरणमा परीक्षा दिनुपर्ने भएको छ ।

सम्बन्धित उम्मेदवारले दुवै चरणको परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तरवार्तामा बस्न पाउने छन् । नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको परीक्षा दुई सय पूर्णांकको हुनेछ । यसअघि सय पूर्णांकको मात्र लिखित परीक्षा हुन्थ्यो। सय पूर्णांकको वस्तुगत परीक्षा उत्तीर्ण गरेपछि मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी गराइने छ ।

विषयगत परीक्षा पनि सय पूर्णांकको हुने मन्त्रालयका विद्यालय प्रशासन महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले बताए । वस्तुगत परीक्षामा परीक्षार्थीले ल्याएको कुल अंकको ५० प्रतिशतलाई मात्र विषयगत परीक्षाको उत्तीर्णांकसँग जोडिने छ । तर, पहिलो चरणको वस्तुगत परीक्षामा उत्तीर्णांक कति राख्ने भन्ने विषयमा भने थप छलफल गरेर निर्णय गरिने काप्रीले बताए । तर, उत्तीर्णांक ५० हुने सम्भावना बढी रहेको उनले बताए ।

‘वस्तुगत परीक्षामा उत्तीर्णांक ५० रह्यो र उम्मेदवारले ५० नम्बर मात्रै ल्यायो भने उसको विषयगत परीक्षाको प्राप्तांकसँग २५ नम्बर मात्रै जोडिन्छ । तर, वस्तुगतमा ५० नम्बरभन्दा तल ल्यायो भने उसले विषयगत परीक्षाम बस्नै पाउँदैन’, काप्रीले भने, ‘वस्तुगत परीक्षामा नेगेटिभ मार्किङ राख्ने विषयमा पनि छलफल भइरहेको छ ।’ यो व्यवस्थाले शिक्षक छनोट प्रक्रिया प्रतिस्पर्धी हुने र शिक्षकको क्षमतामा पनि विकास हुने मन्त्रालयको विश्वास छ ।

अन्तरवार्तामा पनि कडाइ

लिखित परीक्षाबाट छनोट भएका शिक्षकलाई २५ पूर्णांक मानेर अन्तरवार्ता लिने व्यवस्था छ । यो व्यवस्थमा पनि परिवर्तन भएको छ । यसअघि ज्येष्ठताको आधारमा अधिकतम १२ वर्ष मानेर प्रतिवर्ष एक नम्बर दिने व्यवस्था थियो । अब ज्येष्ठताका लागि अधिकतम १० वर्ष मात्र गणना गरिने र प्रतिवर्ष जिरो दशमलव ५ प्रतिशत मात्रै अंक दिने व्यवस्था गरिएको छ ।

ज्येष्ठताको आधारमा १२ नम्बरसम्म अंक दिने व्यवस्थाका कारण खुला प्रतिस्पर्धाको परीक्षामा कार्यरत शिक्षकले मात्र मौका पाउने अवस्था आएकाले ज्येष्ठताको आधारमा नम्बर घटाइएको कापी्रले बताए ।

‘पुरानो व्यवस्थाअनुसार प्राथमिक तहमा १२ वर्ष पढाएको व्यक्तिले निम्न माध्यमिक तहमा प्रतिस्पर्धा गर्‍यो भने उसले स्वतः १२ नम्बर पाउँछ । यसो हुँदा स्वतः १२ नम्बर पाउने व्यक्तिसँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरेर नियुक्ति पाउन निकै कठिन हुन्छ’, काप्रीले भने, ‘अब जति वर्ष काम गरेको भए पनि ज्येष्ठताका आधारमा ५ नम्बरभन्दा बढी अंक कसैले पनि पाउँदैन ।’

शैक्षिक योग्यतालाई थप अंक

संशोधित नियमावलीले सम्बन्धित उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको तहभन्दा माथिल्लो तहको शैक्षिक योग्यता छ भने थप अंक पाउने नयाँ व्यवस्था छ । जसअनुसार माथिल्लो शैक्षिक योग्यता प्रथम श्रेणाीको छ भने एक नम्बर र द्वितीय श्रेणीको छ भने दुई नम्बर पाउने छ ।

न्यूनतम शैक्षिक योग्यताका लागि यसअघि दिइँदै आएको तीन नम्बरलाई भने यथावत् राखिएको छ । शैक्षिक योग्यता र ज्येष्ठताबाहेक सम्बन्धित उम्मेदवारले अन्तर्वार्ता दिएको प्रस्तुतिलाई १५ अंक दिइने छ । अन्तरवार्ताको अहिलेको पद्धतिलाई पनि कडाइ गरिने मन्त्रालयले तयारी गरेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७