डेंगुले लियो तीन जनाको ज्यान


८ भाद्र २०७६, आईतवार
dengu rog

काठमाडौं, ८ भदौं । तीन महिनादेखि फैलिएको डेंगुले तीन जनाको ज्यान लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दुई हप्तामा सुनसरी, डोटी र चितवनमा डेंगुको संक्रमणबाट एक–एक जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

डोटीको दिपायल–सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्री मलासीको मृत्यु पुष्टि भएको छ । सुनसरी र चितवनमा मृत्यु भएको औपचारिक जानकारी महाशाखामा प्राप्त भए पनि नाम र ठेगानालगायत विवरण आधिकारिक रूपमा आउन बाँकी रहेको निर्देशक डा. विवेक लालले बताए ।

‘डोटीबाट मृतकको विवरण आइसके पनि चितवन र सुनसरीबाट आधिकारी रूपमा आउन बाँकी छ, त्यसैले महाशाखाले अहिल्यै सार्वजनिक गर्दैन । दुवैको सबै विवरण संकलन गरेर केन्द्रमा पठाउन भनेका छौँ,’ डा. लालले भने, ‘डेंगुले तीन जनाको ज्यान लिएको रिपोर्ट पछिल्लो दुई हप्तामा प्राप्त भएका हुन् ।’

यस वर्ष पहिलोपटक ३० वैशाखमा धरानका एक व्यक्तिमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता देशभर तीन महिनामा चार हजार तीन सयमा संक्रमण देखिएको छ । अहिलेसम्म डेंगु नियन्त्रणमा ल्याउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए । उनका अनुसार देशका ४२ जिल्लामा संक्रमण देखिएको छ ।

सबै उमेर समूहमा संक्रमणको खतरा
डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिहरूलाई प्रभावित पार्ने चिकित्सकहरूले बताएका छन् । काठमाडौंमा पनि एडिज नामक लामखुट्टे भएका कारण सहज रूपमा डेंगु सर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए । तर, बालबालिकामा संक्रमण छिटो हुने उनले बताए ।

काठमाडौंका वनस्थली, टेकु, बागमती नदी क्षेत्रमा डेंगु सार्ने लामखुट्टेको बसोवास बढी छ । ललितपुर र भक्तपुर पनि जोखिममै रहेको पोखरेलले बताए । गत वर्ष काठमाडौंमा १० जनामा डेंगुको संक्रमण देखिएको थियो ।

के हो डेंगु ?
डेंगु एक किसिमको भाइरल संक्रमण हो, जुन पोथी जातिको एडिज लामखुट्टेको टोकाइबाट सर्छ । सो लामखुट्टे सफा पानी जमेको ठाउँमा बसेर संक्रमण फैलाउँछ । घर वरिपरी सरसफाइ गरी पानी जम्न नदिनु नै डेंगुबाट बच्ने उपाय रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाब छ । लामखुट्टेको टोकाइबाट जोगिन झुल, धूप वा क्रिम प्रयोग गर्न पनि सुझाब दिएका छन् ।

डब्लुएचओ भन्छ, ‘विश्वको आधा जनसंख्या डेंगुको जोखिममा’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका आधा जनसंख्या डेंगुको जोखिममा रहेको बताएको छ । जलवायु परिवर्तनले लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज बनाएको डब्लुएचओको निष्कर्ष छ ।

डा. शेरबहादुर पुनका अनुसार तराईमा देखिँदै आएको डेंगु जलवायु परिवर्तनकै कारण हिमालतिर पनि फैलिएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक देखिएको डेंगु परिवर्तनशील हुँदै गएको पुनले बताए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७