आर्यनको फिल्मी करियर ‘डुब्न’ लागेको टाइटानिक जहाज जस्तै


८ भाद्र २०७६, आईतवार
aryan sigdel

काठमाडौं, ८ भदौं । नायक आर्यन सिग्देलको फिल्मी करियर आजभोलि ओरालो लागेको हरिणको चाल जस्तै भएको छ ।

कुनै समय नेपाली फिल्म उद्योगमा आर्यनको बलियो पकड थियो । उनलाई लिएर बनाइएका फिल्महरु बक्स अफिसमा खरो उत्रन्थ्यो । फिल्म मेकरहरु उनलाई लिएपछि लगानी उठ्नेमा ढुक्क हुन्थे । तर कुनै समय महँगो नायकका रुपमा चिनिने आर्यनको फिल्मी करियर यतिबेला डुब्न लागेको टाइटानिक जहाज जस्तै भएको छ ।

उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फल्प खाएका छन् । दर्शकलाई नयाँ टेष्ट दिन फरक भूमिकामा देखिने आर्यनका प्रयासहरु विफल भएका छन् । यतिसम्मकी रोम्यान्टिक अवतारमा पनि दर्शकले उनलाई रुचाउन छाडेका छन् ।

यसको पछिल्लो उदाहरण फिल्म ‘हजार जुनीसम्म’ लाई लिन सकिन्छ । यस फिल्मका लागि आर्यनले युवा अवस्थादेखि बुढ्यौली गेटअपमा आफूलाई ढालेका थिए । तर उनले मेहेनत गरे अनुसारको प्रतिफल भने पाउन सकेनन् । पोस्टर र फिल्मको ट्रेलर हेरेरै हलसम्म पुगेका दर्शकलाई फिल्मले निराश बनाएको छ ।

विशेषतः प्रेम कथानक चलचित्रमा जमेका आर्यन दर्शकमाझ चकलेटी र रोम्यान्टिक हिरोका रुपमा परिचित छन् । आर्यनका लागि हजार जुनीसम्म करियरलाई पहिलेकै ट्रयाकमा ल्याउने राम्रो अवसर थियो । यहि सोचेर उनी फिल्मको प्रमोसनमा पनि जमेरै लागेका थिए ।

चलचित्र हजार जुनीसम्म हेर्न दर्शक हलसम्म नआई दिएपछि आर्यनको करियरलाई ठूलो झट्का लागेको बुझ्न सकिन्छ । दर्शकले पत्याउन छाडेपछि गत वर्ष आफ्नै ब्यानरमा आर्यनले फिल्म ‘कायरा’ बनाएका थिए ।

उक्त चलचित्रमा उनले अहिलेकी डिमाण्डकी नायिका साम्राज्ञी आरएल शाहलाई महँगो पारिश्रमिकमा फिल्मका लागि अनुबन्धित गराएका थिए । तर उक्त फिल्मले पनि हलमा राम्रो व्यापार गर्न सकेन । फलस्वरुप आर्यनको फिल्मी करियर अझै नराम्रोसँग पछारियो ।

प्रदर्शनमा रहेको हाजार जुनिसम्मले व्यापार गर्न नसकेको अवस्थामा उनको अर्को फिल्म ‘च चहुई’ समेत प्रदर्शनमा आउँदैछ । फिल्म फ्लप खाए पनि उनी अन्य फिल्ममा समेत अनुबन्धित भइरहेको खबर बाहिर आएका छन् । तर के आउँदा फिल्महरुमा आर्यनले दर्शकको मन जित्न सक्लान् त ? अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७