उपेन्द्र सुब्बाको ‘कविता र ठटयौली’ ले बेलायतमा बस्ने नेपालीहरु रमाए

लण्डन, ९ भदौं । निर्धारित समय भन्दा दुईघण्टा ढिला युद्ध कवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता बाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे । प्रायः गरिने कार्यक्रम भन्दा भिन्न तवरले सञ्चालन गरिएको कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए ।

कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र सामाजिक अभियान्त रामशरण सिम्खडाले लिम्बु संस्कृतिको पहिचान ‘सिलाम साक’ मा लगाई दिए । त्यसपछि कवि उपेन्द्र सुब्बाको एकल कविता बाचन कार्यक्रम शुरु भयो । अनौपचारिक रुपमा शुरु भएको कार्यक्रममा उनका बजुले केही दिन अगाडि ‘तिम्रो जस्तो अनुहार कसले हेर्न आउछ र’ भन्ने रमाइलो प्रसङ्गदेखि शुरु गरेका उनले सबैभन्दा शुरुमा दर्शकहरुलाई धन्यवाद दिए ।

‘म अनुहार, व्यवहार र चिन्तनले पनि कविको लेनादेना नभएको’ ठटयौली प्रसङ्ग गर्दै उनले भने उनका गाउँले दाजु रणवीर दाजुले ‘हाउ कान्छा तेरो वेहोरा हेर्दा कतारमा जान्छस् जस्तो थियो, युके पो आइपुगेछस, धेरै भए मास्टर हुन्छस् जस्तो लागेको थियो’ भनेको सन्र्दभ हस्यौली पारामा कोट्याए । म मास्टर वेहोरा कै थिए, उनले भने, ‘किनभने गाउँका मास्टरहरु जाँड खाएर टिल्ल परेर पढ, मात्रै भन्थ्यो ।’

उनले धेरै बर्ष अगाडि अरु जस्तै युके आउने रहर भएको कुरालाई कोट्याए, उमेर छदाँ छाती नपाएको कुरा बताए । आफ्ना साथी पे्रम सुवाङ, लक्ष्मी नेम्बाङ सम्झिए । भर्ती हुने समयमा आफू र पे्रेम सुवाङ ज्यान परेको भए पनि सवैभन्दा सानो लक्ष्मी नेम्बाङ चाँही भर्ती भएर युके आए म चाँही धेरै पछाडि कवि भएर आएको कुरालाई हस्यौली पारामा भने ।

लामो हस्यौली र ठटौयली पछि कविता बाचन गर्न सुरसार गरे । आफूले कविता बाचन गर्नुभन्दा अगाडि आफ्नो बहिनी पर्ने सिर्जना सुब्बालाई ‘कसम’ कविता बाचन गर्न लगाए । सुब्बाले धेरै बर्ष अगाडि नेपाली श्रष्टा अम्बर गुरुङले भनेको कुरा सम्झिए, ‘प्रेमको कुरा युवाहरुको अनुभूतिमा मात्रै लेखियो, तर हैन प्रौढहरुको पनि फिलिङग्स हुन्छ ।

तिमीहरु खाली चौतारीको मात्रै लेख्छौ, हाम्रो पनि लेख’ भनेर भन्नु भएकाले मैले ठिटा हुँदा बुढयौलीको अनुभूति गरेर लेखेको कारण पढ्न पनि भर्खरै उमेर समूहकालाई बाचन गर्न लगाएको प्रसङ्गलाई स्पष्ट पारे । त्यसपछि उनले आफ्ना ‘कृति’ कविता बाचन गरे ।

हलमा करीव डेढ सय जना जति उपेन्द्र सुब्बाको कविता सुन्न उपस्थित थिए । शान्त वातारण घरी घरी कवि सुब्बाको ठट्यौलीले अगष्ट १६ को बेलुकी लण्डनस्थित हेरो फुटवल क्लवको हल नै हाँसोले गुञ्जायमान भयो ।

बेलायतको धेरै टाढा टाढाबाट कविता सुन्नका लागि आउनेहरु कोही बाटोमै थिए । कोही आउँदै थिए । कविता सुनाउँदै गर्दा सुब्बाले हाम्रो देश विकास भइरहेको छ । त्यसको जानकारी बेलायतमा बस्नेहरुले फेसबुकबाट जानकारी पाउँदै हुनुहुन्छ भनेर ठट्यौली तरिकाले व्याङग्य गरे ।
नेपाली समुदाय पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकलाई मुुख्य सूचनाको स्रोत मानेर त्यसैमा रुमलिइरहेको छ । फेसबुकमा आएको सूचनाहरु कति विश्वसनीय, आधिकारिक र भरोसायोग्य छ भन्ने कुरा विदेशमा बस्नेहरुले नछुट्याएको भन्ने थियो ।

यो सन्दर्भ कोटाउँदा भर्खरै रबी लामिछानेलाई फेसबुक प्रयोगकर्ताहरुले देवत्करण गरिरहेका थिए । रवी लामिछानेलाई प्रहरीले पत्रकार आत्महत्या गर्न बाध्य बनाएको आरोपमा अनुसन्धानका लागि पक्राउ भर्खरै मात्रै गरेका थिए । कसैले रबिलाई फसाउन खोजिएको भन्दै फेसबुकमा रबिलाई देवताको अवतार मानिरहेका थिए । सुब्बाको कवितात्मक शैलीमा यो व्याङग्यले बेलायतमा बस्ने नेपालीहरुले कति बुझे, तर सबै सहभागी भने राम्ररी नै हाँसे ।

यति भनिसकेपछि कवि सुब्बाले अर्का कवि फडिन्द्र भट्टराईलाई आफ्ना कविता बाचन गर्न अनुरोध गरे । फडिन्द्र भट्टराई सुब्बाको अनुरोध स्वीकार गदै कविता बाचन गर्न उक्लिए ।
उनले कविता बाचन कार्यक्रममा भर्खरै युवा अवस्था हुँदादेखि अहिलेसम्म लेखेका डेढ दर्जन कविताहरु क्रमैसँग सुनाए । बीच बीचमा अन्य श्रष्टाहरुलाई पनि कविता बाचन गर्न लगाए ।

कविता बाचनको बीचमा सुब्बाले केही बर्षअघि मलेसियमा कविता बाचन गर्न गएको कुरा सुनाए । मलेसियामा कविता बाचन कार्यक्रम गर्दा हलमा एक जना पनि महिला थिएनन् । त्यसैले जे भने पनि भयो । त्यस्तो अवस्थामा आफूलाई खुव खुल्ला महसुस हुने कुरा हस्यौली गरे ।

एक जना महिला चँही हुनुहुन्थ्यो तर, नेपाली नबुझने झन सजिलो भयो, उनले भने, ‘कार्यक्रम सात तले भवनको सिरानमा कार्यक्रम हल थियो । तर म चाँही लिफ्टमुनी अरुसँग फोटो खिच्न व्यस्त भएँ । तर, एक जना आयोजक आएर कहाँ यहाँ फोटो खिचेको, फोटो खिचेपछि कार्यक्रममा आउँदैन, यसरी त फर्किहाल्छन् भनेर हप्काए’ भनेर सबैलाई हँसाए ।

उनले गरेको यो हस्यौली पाराको कुरा यही कार्यक्रममा पनि थियो । कविता सुन्ने भन्दा ‘झाँक्री बा’ संग फोटो खिचेर फेसबुकमा हाल्नका लागि धेरै आतुर थियो । पछिल्लो समय उपेन्द्र सुब्बालाई कवि लेखक भन्दा पनि नेपाली फिल्म कवड्डीको ‘झाँक्री बा’ भनेर आम सर्वसाधारणले चिन्ने गरेका छन् । उनले पनि ‘झाँक्री बा’ ले गर्दा नै धेरै विदेश घुम्न पाएको प्रसङ्गलाई कोटाए ।

शुरुमा उपेन्द्र सुब्बा कविता लेखेर नै उनका नेपाली कला साहित्यमा प्रवेश भएको हो । उनका धेरै कविता संग्रहहरु छन । ‘खोलाको गीत’ कविता सङग्रह उनका लेखनकलाको मानक कृति हो, भने ‘लाटो पहाड’ कथा सङग्रहमार्फत लेखनमा बहुविधाको आयामलाई परिचित गराएका छन् । लाटो पहाड पद्यश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन ।

उपेन्द्र सुब्बाको लेखनमा सरलता छ । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामथ्र्यका कारण आम पाठकबीच उनी प्रिय बनेका छन् । उनले लेखेका कृतिहरु सरल छ । त्यसैले सबैलाई बुझन पनि सहज छ ।

कविता वाचनको क्रममा उनको कवितामा गहन अर्थबोध त छँदैथियो तर, उनको ठट्यौलीमा पनि त्यतिकै गहन अर्थ लाग्थ्यो । नेपालका पूर्वी आदिवासी जनजाति र लिम्बु समाज र मुन्धुमी संस्कृति नै उनका लेखनको मुख्य आधारबाट मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्न उनको विशेषतालाई धेरैले मन पराउँछन् ।

उनको कविता वाचनमा आदिवासी जनजाति मात्रै होइन अन्य जातजातिहरुको पनि बाक्लो उपस्थिति थियो । यसले सुब्बाको लेखनलाई आमपाठक वर्गमा प्रिय बन्न सकेको छ भन्ने पनि हो । सिलिचुङ साप्ताहिक नेपाली पत्रिकाको आयोजनामा भएको सुब्बाको एकल कविता बाचन कार्यक्रमको अन्त्यसम्म पनि कविता सुन्न सर्वसाधारणहरु आएका थिए ।

उनको यो कविता बाचन कार्यक्रम धेरैले मन पराए । धेरैले आफ्ना पूराना कुरा सम्झिए । उपेन्द्र सुब्बाका त्यस्ता कृतिहरु छन् जसले नेपाली समाजलाई टपक्कै टिपेर भावनात्मक शब्दमा खिपेका छन् । त्यसैले उपेन्द्र सुब्बा सबैको प्रिय बनेका छन् । बेलायतको व्यस्त जीवनबाट पर रहेर भए पनि सुब्बाका कविता सुन्न धेरै जना आएका थिए । उनका चर्चित कविता भेडेटारको पिक्निक, साल्दी ज्यूलगायतका अन्य कवितामा धेरै दर्शकहरु हाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्