उपराष्ट्रपतिको गाउँको वडा कार्यालयमा विष्फोट


९ भाद्र २०७६, सोमबार

रोल्पा, ९ भदौं । रोल्पाको एक वडा कार्यालयमा बम विष्फोट गराइएको छ । परिवर्तन गाउँपालिकाको–२ नम्बर वडा कार्यालयमा आइतबार राति साढे १२ बजेतिर बम विष्फोटसँगै आगजनी गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको गृह वडा राङसीको कार्यालयमा विष्फोट र आगजनी भएको हो । बम विष्फोट आगजनीपछि स्थानीय जनजीवन त्रसित भएको छ । विष्फोट र आगजनीबाट कार्यालयका ढोका, पर्दा र डस्टबिन जलेका छन् ।

वडाअध्यक्ष हरिप्रसाद घर्तीले सोमबार विज्ञाप्ति जारी गर्दै विष्फोट र आगजनीबाट कार्यालयमा आशिंक क्षति भएको जनाएका छन् । कार्यालयलाई जलाउने मनसायले अज्ञात समूहले विष्फोट र आगजनी गरेको वडा कार्यालयले जनाएको छ । विष्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

गाउँलेले वडा कार्यालयमा आगो सल्किएको देखेर निभाउन पुगेका थिए । कार्यालयको चार वटा ढोकामा जुटको बोरामा डिजेल छर्किएको अवस्थामा आगो सल्किएको देखेर गाउँले त्रसित बनेका थिए । चट्याङ लागेर आगलागी भएको ठानेका गाउँलेले बमको टुक्रा र डिजेल लटपटिएको जुटको टुक्रा देखेपछि आक्रमण भएको आशंका गरेका थिए ।

घटनाको सूचना पश्चात इरिबाङबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताए । विष्फोट र आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७