नेपालमा खेलबाटै जीन्दगी धान्न सकिन्न : निमा घर्ती मगर {सागकी स्वर्ण विजेता}

२०५६ साल पुस २ गते रोल्पाको कोटगाउँ–१, माडिचौरमा जन्मिएकी निमा घर्ती मगर नेपाललाई सबैभन्दा कम उमेरमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताउने उसु खेलाडी हुन् । उनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । उनले उसुको थाउलोमा स्वर्ण जिताइन् । १३ औं दक्षिण एसियाली खेलकुद नेपालमा हुँदैछ । त्यसैको तयारीमा रहेकी उनै उसु खेलाडी मगरसँग नयाँपेजले गरेको खेल जीवनको कुराकानी :

१. तपाईले उसुले खेल कहिलेबाट शुरु गर्नु भयो ?

मैले १२ वर्षको उमेरदेखि उसु खेल्न शुरुवात गरेको हो । जतिबेला म कक्षा ७ मा पढ्दै थिएँ । त्यतिबेला शुरुवात गरेको हो ।

२. नेपालमा यति धेरै खेल विधाहरु छन् किन उसु नै रोज्नु भयो ?

उसु नै खेल्छु भन्ने थिएन, एउटा ‘सेल्फ डिफेन्स’ र ‘हेल्थ कन्सियसका लागि खेल्न थालेको हो । परिवारबाट पनि ‘डिफेन्स र प्रिभेन्स’ का लागि भए पनि खेल्नुपर्छ भनेर भन्नु भएको थियो । यहि भएर पनि उसुमा लागें ।

 

३. तपाई पहिलो दिन उसु खेल्न जाँदाको केहि सम्झनाहरु पक्कै छन् नि ?

स्कुलमा हुने खेलहरुमा सहभागी हुन्थे । आउटडोर खेलहरु फुटबल, भलिबल, बास्केट बल खेल्थे । सानोमा पहिले त म जुडो खेल्न गएको हो । जुडो खेल्ने ठाउँ अलि टाढा भएकाले छोडें । दुई हप्ता जति गएँ । स्कुल जान टाढा भएकाले छोडेको थिएँ । पछि चाँही मेरो घर नजिक खोलाको किनारमा निराजन आलेमगरले उसु सिकाउनु हुँदोरहेछ । उहाँ मेरो प्रमुख प्रशिक्षक, पहिलो उसु प्रशिक्षक पनि हुनुहुन्छ । एक जना दिदीले खेल्न जाउँ भन्नुभयो । बाबाले पनि आत्मरक्षाका लागि राम्रो हुन्छ भनेर पठाउनु भयो । नजिक भएर पनि हो त्यस पछि चाँही म निरन्तर उसु नै खेलिरहेकी छु ।

४. उसुभित्र दुई विधा हुन्छ, थाउलो र सान्सु । तपाईले किन थाउलो नै रोज्नु भयो ?

थाउले किन रोजे भन्दा, पहिले त मैले ‘सान्सु’ नै खेलेको हो । पहिले मलाई केही थाहा पनि थिएन । सेल्फ डिफेन्सका लागि खेलेको हो । पहिले सान्सु नै खेलेको थिएँ, जुन खेल हारे । त्यसपछि उसु खेल्दिनँ भन्ने भएको थियो । थाउलो, नान्नचुङ, छान्छोङ फरक–फरक हुन्छ । बेसिक थाउलो गरिरहेको थिएँ । अनि गुरुले थाउलो इभेन्टमा राम्रो गरिरहेको देखेर थाउलोको नान्नचुङ इभेन्ट खेल्न सुझाव दिनुभयो । त्यसपछि थाउलो खेलें ।

५. तपाईलाई याद छ उसुको ड्रेस लगाउनु भएको त्यो पहिलो दिन ?

हजुर याद छ । दुई महिना चाँही यतिकै आउट ड्रेसमै गएँ । उसुको ड्रेस सिलाउन पनि समय लाग्छ । उसुको आफ्नै पहिरन हुन्छ, कालोमा सेतो मिसिएको, टाँक भएको चाइनिज लुगा जस्तो हुन्छ । मसँग पहिले स्पोर्टस ड्रेसहरु थिएन । ट्रयाकहरु पनि थिएन । जिन्स पाइन्टहरु नै लगाएर जान्थे । पछि चाँही गुरुले किक हान्नुपर्छ, स्ट्रेचिङ गर्नुपर्छ, सजिलो हुँदैन् भनेर भन्नु भयो । पछि ड्रेस नि आयो । कराते, तेक्वादोको वाइट (सेतो) मा हुन्छ, हाम्रो चाँही फुल ब्लाकमा हुन्छ । ड्रेस लगाउँदा नौलो, रमाइलो भएको थियो । अनि जोश पनि आएको थियो । म धेरै खुशी भएको थिएँ ।

६. उसु खेल्न शुरु गरेको कति समयपछि तपाई राष्ट्रिय टिममा पर्नु भयो ?

उसु खेलेको एक वर्षमै राष्ट्रिय टिममा परेको हुँ । असार ०७० मा नवौं राष्ट्रिय उसु प्रतियोगिता भएको थियो, त्यसमा म दोस्रो भएको थिएँ । मेरो सिनियर पहिलो हुनुहुन्थ्यो । उहाँले सन्यास लिनु भयो । उहाँले सन्यास लिएपछि म राष्ट्रिय टिममा म परें ।

७. राष्ट्रिय टिममा पर्दा कस्तो अनुभूति भएको थियो ?

म कक्षा ८ मा पढ्दै थिएँ । स्कुल पनि जानुपथ्र्यो । राष्ट्रिय टिम ट्रेनिङ चाँही मर्निङ टाइममा हुन्थ्यो । हप्ताको ग्याप मिलाएर दुई–तीन दिन जान्थे । बिहान ७ बजेदेखि १० बजेसम्म ट्रेनिङ हुन्थ्यो । मैले चाँही आधा छोडेर जानुपथ्र्यो । म भन्दा धेरै सिनियरहरु हुनुहुन्थ्यो । उहाँहरुको स्पिड पछ्याउन एकदमै गाह्रौ हुन्थ्यो । मेरो आफनै गुरु निराजन आलेमगर पनि राष्ट्रिय टिममै हुनुहुन्थ्यो । उहाँले एकदमै सहयोग गर्नुभयो । उहाँले ट्रेनिङका लागि घरबाट रङ्गशाला पु¥याउनेदेखि आफनो ट्रेनिङ छुटाएर स्कुल समयमै पुरायाउनेसम्मको सहयोग गर्नुभयो । उहाँप्रति एकदमै आभारी छु ।

८. गुरु निराजन आलेमगरसँग एउटै टिममा रहेर ट्रेनिङ गर्दा कस्तो लाग्थ्यो ?

म भन्दा सिनियर, मेरो आइडल व्यक्तित्वहरुसँग ट्रेनिङ गर्न पाउँदा एकदमै खुशी हुन्थे । एकदमै खेलप्रति प्रेरित हुन्थे । उहाँहरुको आइडिया लिन पाएँ । मेरो एउटा साथी पनि हुनुहुन्छ–सुस्मिता तामाङ । उहाँ मेरो प्रेरणा नै हो । उहाँ पनि मेरै उमेरको हो । उहाँ पहिले नै राष्ट्रिय टिम हुनुहुन्थ्यो । गुरुले पनि भन्नुहुन्थ्यो, ‘सुस्मिता तामाङ सानै छ, तर पनि एकदमै मेहनती छ, राष्ट्रिय टिममा पर्छ ।’ मलाई वाह… कस्तो खत्रा होला त्यो केटी भन्ने लाग्थ्यो । पछि राष्ट्रिय टिममा परेपछि सँगै ट्रेनिङ गर्न पाउँदा एकदमै खुशी थिएँ । उहाँलाई देख्दा खेलप्रति एकदमै प्रेरित हुन्थे । गुरु पनि एकदमै मोटिभेटिभ हुनुहुन्थ्यो ।

९. राष्ट्रिय टिममा पर्दा सानै हुनुहुन्थ्यो, कसै–कसैबाट सानी भनेर हेप्ने काम त भएन नि ?

अहँ त्यस्तो भएन । झन सानो भएकाले उहाँहरुले झनै धेरै माया, सहयोग गर्नु हुन्थ्यो ।

१०. तपाईको खेल जीवनले कहिले टर्निङ प्वाइनट लियो ?

खेल खेल्न शुरु गरेपछि सुरुवात खासै उपलब्धी हासिल गर्न सकिनँ । तर, थाउलो इन्भेन्ट परिवर्तन गरेपछि जुनियर खेलहरु खेल्दा सबैमा गोल्ड मेडल ल्याएर आएँ । सबै खुशी हुनुहुन्थ्यो । जुनियर खेलहरु भए पनि परिवारले गर्व गर्नु हुन्थ्यो । राष्ट्रिय टिममा परेपछि दशौं राष्ट्रिय उसु प्रतियोगिता भयो । त्यसमा चाँही राम्रो प्रदर्शन भएन । म तेस्रो भएँ । त्यसपछि एकदमै दुःखी भएको थिएँ । अनि मैले अर्को खेलमा प्रथम नै हुन्छु भनेर अठोट गरें । त्यसलाई म टर्निङ प्वाइन्ट मान्छु ।

११. तपाईलाई सबै भन्दा खुशी दिलाएको खेल कुन थियो ?

दशौं राष्ट्रिय उसु प्रतियोगितामा म तेस्रो हुन पुगें । त्यसपछि मेहनत गरें । दक्षिण कोरियामा हुने एसियाली खेलकुदका लागि छनोट हुँदै थियो । छनौटमा मैले गोल्ड मेडल जितें । मेरो अठोट पनि पूरा भयो । मेरो मेहनत, परिवारको प्रेरणा, सहयोगका कारण खेल जितेको थिएँ । त्यो खेल जित्दाको क्षण एमदमै खुशीको क्षण थियो । साउथ एसियाली खेलमा गोल्ड मेडल ल्याउनु भन्दा पनि एसियाली खेलकुदमा छनौट हुनु ठूलो कुरा थियो ।

१२. तपाईको खेल जीवनमा यो खेल चाँही नखेलेको भए पनि हुन्थ्यो भन्ने चाँही लागेको छैन ?

कहिलेकाँही निरास पनि भइन्छ । एसियन खेलमा मैले जति मेहनत गरेर छनौट भएको थिएँ । पछि एसियन खेलमा जान पाइन् । मेरो कोटा काटिएको थियो । त्यो बेला एकदमै दुःखी र निरास भएको थिए । खेल्न मन नलाग्ने, ध्यान नै नजाने भएको थियो । खेल नै छोडौ कि जस्तो भएको थियो ।

१३. भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुदको बेला त तपाईर एसएलसी परीक्षाको नजिक हुनुहुन्थ्यो । कसरी समय मिलाउनु भयो ?

समय मिलाउन एकदमै गाह्रो भएको थियो । मेरा लागि एसएलसी परीक्षा एकदमै महत्वपूर्ण नै थियो । फेरि १२ औं दक्षिण एसियाली खेलकुदमा सहभागी भएर उपलब्धी हासिल गर्नु पनि मेरो लक्ष्य थियो । एसएलसी भएका कारण ध्यान दिन सकिरहेको थिइन् । पढाई पनि महत्वपूर्ण थियो । क्याम्प बस्नु पर्ने भयो । क्याम्प पोखरामा थियो ।

स्कुल यता भएका कारणले प्रि–बोर्डहरु दिन पाइन् । टिचरहरु पहिलेदेखि नै खेलमा किन यति धेरै ध्यान दिन्छौं ? मुख्य ध्यान पढाइमा हुनुपर्छ । खेलेर केही हुँदैन्, भन्नुहुन्थ्यो । उहाँहरुले पनि मेरो बढाइ नबिग्रियोस् भनेर पढाइमै ध्यान दिन भन्नु हुन्थ्यो । उहाँहरुलाई थाहा थिएन्, ‘मैले कति मेहनत गरेको छु भनेर, उहाँहरुलाई मैले समय बर्बाद गरिरहेको थिएँ होला जस्तो लागेको थियो होला ।’

१४. तपाई १२ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर फर्किएपछि शिक्षकहरुको प्रतिक्रिया कस्तो पाउनु भयो ?

उहाँहरुले मेरो खेलको बारेमा सोच्नु नै भएको थिएन । मैले प्रिबोर्ड पनि दिइन् । स्कुलको अनुशासन पनि भङ्ग गरेको थिएँ । उहाँहरुले एकदमै रिसाउनु भएको थियो । पछि मैले १२ औं दक्षिण एसियाली खेलकुदबाट स्वर्ण पदक ल्याइसकेपछि उहाँहरु पनि एकदमै खुशी हुनु भयो । मेरो सफलतामा उहाँहरु पनि रमाउनु भयो । मप्रति गर्व गर्नुभयो ।

१५. सागमा स्वर्ण जितेपछि नेपालको झण्डा बोकेर उभिरहँदा पहिला कसलाई सम्झिनु भयो ?

सम्झिन्नु भन्दा खुशी भइरहेको थिएँ । मैले आफूले आफूलाई प्रमाणित गरें । म सक्छु, यसका लागि म योग्य छु, जस्तो अनुभव भइरहेको थियो । किनकी म सक्षम छैन् भनेर एसियन खेलमा सहभागी हुन दिनु भएको थिएन । यो प्रतियोगितामा मैले म सक्षम छु भनेर प्रमाणित गरें । कोही व्यक्तिलाई सम्झिन्ने भन्दा पनि मैले म सक्षम, योग्य छु भनेर प्रमाणित गरे भनेर नै एकदमै खुशी भएको थिएँ ।
१६. नेपालका लागि सबै भन्दा सानो उमेरमा साफ च्याम्पियसिपको स्वर्ण पदक जित्नु भयो , अब १३

१६. साफ नेपालमा हुँदैछ, तयारी कस्तो छ ?

अहिले प्रशिक्षणमा छौं । अब छनौट भएपछि बन्द प्रशिक्षण शुरु हुन्छ । अहिले तयारी एकदमै राम्रो भइरहेको छ । प्रशिक्षकहरुले प्रशिक्षण दिइरहनु भएको छ । सकेसम्म राम्रो ठाउँहरु मिलाई दिनु भएको छ । राम्रो भइरहेको छ ।

१७. नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुदमा लक्ष्य के छ ?

अब खेलाडी भएपछि हार्छु भन्ने हुँदैन । जहिले पनि प्रथम हुने नै हुन्छ । म पनि सहभागी भएर फेरि पनि स्वर्ण पदक नै जित्छु । म आफनो तर्फबाट सबैभन्दा राम्रो गर्नेछु । रिजल्ट के हुन्छ हेरौं ।

१८. उसुमा तपाईले धेरै अनुभव हासिल गरिसक्नु भयो, नयाँ खेलाडीहरुलाई के सुझाव दिनु हुन्छ ?

खेलमा कडा मेहनत गर्नुपर्छ । मेहनत नगरी गोल्ड मेडल जित्न सकिन्न् । एक–दुई दिनको मेहनतले हुँदैन् । निरन्तर मेहनत गर्नुपर्छ । प्रतिक्षा पनि गर्न सक्नुपर्छ । एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ । निरास कहिल्यै हुनु हुँदैन ।

१९. नाम नै लिनु पर्दा तपाईको सफलताको पछि क–कसको हात छ नि ?

मुख्यतः मेरो प्रशिक्षक निराजन आलेमगर । उहाँले उसु नखेलाउनु भएको यहाँसम्म आउँदिन थिएँ । निमा घर्तीमगर भनेर कसैले चिन्दैन थिए । अनि मेरो परिवार । जसले मलाई खेल्नको लागि उचित वतावरण बनाई दिनु भयो । खेल्नका लागि प्रेरणा दिइरहनु भयो ।

२०. यदि तपाई उसु नखेल्नु भएको भए के गर्नु हुन्थ्यो होला ?

यदि म उसु नखेलको भए अहिले पार्टटाइम टिचिङ गर्दै गरेको हुन्थे होला । उसु नभएको भए मेरो रोजाई व्यापार व्यवसाय हुन्थ्यो होला ।

२१. नेपालको सन्दर्भमा खेल खेलेरै जीन्दगी बिताउन सकिन्छ ?

खेलमै लाइफ बनाउँछु भन्नु एकदमै गाह्रो छ । तर, पनि राम्रो उपलब्धीहरु हासिल गर्ने हो । खेल क्षेत्रमा पनि परिवर्तनहरु आउँदैछ । विस्तारै सहज हुन्छ होला । सरकारले पनि हेर्छ । अरु क्लबहरुले पनि लिन्छन् । जस्तो नेपालमा आर्मी–पुलिसका क्लवहरुछन् । त्यसका लागि एकदमै मेहनत गर्नुपर्छ । यतिकै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्