मान्छे जत्रै ‘फेदोर’ रोबोट अन्तरिक्ष केन्द्रमा, रोबोटले यस्ता काम गर्छ


१० भाद्र २०७६, मंगलवार
robot

मस्को, १० भदौं । रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मंगलबार स्थापना गरेको छ ।

गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीरजत्रो रोबोटले मानिसझैं यताउता हिंड्ने र वरपरबाट सामान ल्याउने–राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एक जना टिप्पणीकर्ताले भने–‘सम्पर्क स्थापित भएको छ । रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।’ रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्‍याइएको जनाएको छ ।

अमेरिकी नासा टीभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रसारण गरेको थियो । टीभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सातजना पुगेको बताएका छन् । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिने छ । सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्‍याउने गरिन्छ । तर, यस पटक रोबोट पठाइएको छ ।

यो यानमा ६७० किलोग्राम सुक्खा सामान पठाइएको छ । जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् । अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो ।

यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो । तर, प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो । सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो ।

टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो । तर, यसले जापानी भाषामात्र संग्रह गर्दथ्यो । सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७