नेपाल पहिलो अभ्यास खेलमा पराजित


११ भाद्र २०७६, बुधबार
u 19

काठमाडौं, ११ भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यु–१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी)को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्याे । 
नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमल सिंह ऐरीले २, सुर्य तामाङ, सागर ढकालले समान एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । खराब मौषमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे । हरि बहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए ।

एसीसी यू–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्काे समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७