२१ दिन बित्यो खुलेन काठमाडौं विश्वविद्यालयको ताला


११ भाद्र २०७६, बुधबार
Kathmandu University central office

काभ्रेपलाञ्चोक, ११ भदौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन ।

प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।

दुवै सङ्घले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।

स्कूल अफ म्यानेजमेन्टका डिन प्राडा विजय केसीको संयोजकत्वमा प्राडा बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ ।

तर, सो समितिले औपचारिकरूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिकरूपमा नभए पनि अनौपचारिकरूपमा कुराकानी भइरहेको बताए ।

आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकार सम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ । आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपुर्‍याएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७