जर्मनीको एनआरएन अभियानमा निरन्तर निनाम्मा


११ भाद्र २०७६, बुधबार
Ninamma Rai

जर्मनी :  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीकी कोषाध्यक्ष निनाम्मा राईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

यही सेप्टेम्बर २ मा हुन लागेको जर्मनीको सातौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा लड्ने घोषणा गरेकी हुन् ।

राईले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको कोषाध्यक्ष (२०१७–२०१९) पदमा सफल भूमिका निर्वाह गरेकी छिन् । यो अभियानमा थप जिम्मेवारी लिएर अझ प्रभावकारी हिसाबले काम गर्नका लागि उपाध्यक्षको घोषणा गरेको राईले बताइन् ।

अभियानमा निरन्तर
राई गत २६ वर्षअघिदेखि जर्मनीमा बसेर गैरआवासीय तथा सामाजिक अभियानमा सक्रिय छिन् । उनी २००९ देखि गैर आवासिय नेपाली संघको औपचारिक संरचनामा संगठित भएर सक्रिय छिन् ।


त्यसो त उनी नेपालमा रहदा समेत सचेत रुपमा राजनीतिक र समाजिक अभियानमा थिइन् । २००७ सालका क्रान्तिका मुत्तीयोद्धा जननायक रामप्रसाद राईकी नातिनी समेत रहेकी राईको परिवार नै परिवर्तनको आन्दोलन र अभियानमा सक्रिय छ । एनआरएनए अभियानसँगै बिभिन्न सामाजिक आन्दोलन र सहयोगमा उनी पनि उनको भूमिका छ ।


के छ अजेन्डा ?
निनाम्मा गैर आवासीय नेपाली संघ जर्मनीको अभियानमा परिचित नाम हो । भन्छिन्,‘मैले जर्मनीका गैरआवासीय नेपालीको सबै खालका समस्या, सुखदुख र भावना बुझेकी छु । त्यस कारण पनि उहाँहरुको हितमा काम गर्न सक्छु भन्ने विश्वास छ ।’

जर्मनीका नेपालीहरुलाई देशसँग जोड्ने अभियानमा समेत आफ्नो प्रभावकारी भूमिका रहने उनको विश्वास छ । भन्छिन्,‘जर्मनी भित्रका अभियानहरुमा मात्रै होइन नेपालसँग यहाँका नेपालीहरुलाई जोड्न पुलको काम पनि गर्नेछु ।’

उनको परिवारसँग जोडिएको मात्रै नभएर उनी आफैको नेपालको सरोकारवाला निकायहरुसँग सम्पर्क र सम्बन्ध भएको कारण त्यो सजिलो हुने उनको बुझाई छ । ‘देशसँग जोड्ने अभियानमा पनि मेरो भूमिका उत्तिकै प्रभावकारी हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७