छोराछोरीले यमराज हेर्न मन गरे रिङ्गरोड लैजाँदा हुन्छ : सांसद विरोध खतिवडा


१२ भाद्र २०७६, बिहीबार
Birodh Khatiwoda

काठमाडौं, १२ भदौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले उपत्यकाको टिपर आतंक रोक्न माग गरेका छन् ।

उनले काठमाडौंको चक्रपथमा जेब्रा क्रसिङ समेत नभएकाले सर्वसाधरणलाई बाटो काट्न अप्ठ्यारो परिरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले भने, ‘सभामुख ज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन् भनेर देखाउनु पर्‍यो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन् । दुई–चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने !’

उनले मासिक सात जनाको टिपरकै कारण मृत्यु हुने गरेको भन्दै नियन्त्रण गर्न माग गरेका छन् । ‘टिपरको बौलाह दौडाइ छ । जेब्रा क्रसिङ पनि छैन । कसरी बाटो काट्ने ? सुविधाजनक ढङ्गले रिङरोड क्रस गर्ने वातावरण मिलाइयोस् ।’

सिनामंगलमा गत आइतबार राति ९ बजेतिर एउटा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो । मोटरसाइकलमा सवार बाँकी चार जना घाइते छन् ।
काठमाडौं जस्तो शहरी क्षेत्रमा टिपर चलाउनै दिन हुँदैन ।

सरकारले भने रोक लगाउनुको साटो दिउँसो चल्न नदिने नियम ल्यायो । बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि मात्र मालवाहक सवारी चल्न दिने नियम टिपरमा पनि लागू भयो। यो नियमले टिपर आतंक घट्नुको साटो बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७