प्राथमिक तहका शिक्षकको नतिजा यसै हप्ता


१२ भाद्र २०७६, बिहीबार
Teacher 3 1

काठमाडौं, १२ भदौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिष्पर्धाको नतिजा यसै सातादेखि सार्वजनिक गर्ने भएको छ । माध्यमिक र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको महिना दिन पुग्न लाग्दा पनि प्राथमिक तहको नतिजा सार्वजनिक नभएको गुनासो प्रतिष्पर्धीहरुले गरिरहेका छन् ।

लिखित परीक्षामा उत्तीर्ण प्रतिष्पर्धीहरुको व्यक्तिगत विवरण रुजु गर्ने काम भइरहेको आयोगका प्रशासकीय अधिृकत डा. तुलसीप्रसाद थपलियाले जानकारी दिएका छन् । धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण केही समय ढिलो भएको उनले जानकारी गराए ।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९९६ दरबन्दीमा शिक्षक छनोटका लागि विज्ञापन गरेको थियो । ती सबै कोटाका लागि १४ हजार १२५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिएका छन् ।

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि एक हजार ५७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसकेको छ । रुजु गर्ने काम करीब सकिएको बताउँदै थपलियाले सकेसम्म यसै साताबाट नतिजा सार्वजनिक गर्न शुरु गर्ने योजनामा आफूहरु रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७