तनहुँमा ९ जनामा डेङ्गु देखियो, सडकमै चालकको आँखा र रक्तचाप परीक्षण


१४ भाद्र २०७६, शनिबार
dengue

तनहुँ, १४ भदौ । जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।

गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए । डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।

अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहुँमा आर्थिक वर्ष ०७१–७२ मा तीन, ०७४–७५ मा एक र ०७५–७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुईरदुई जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन् ।

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले ।

सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ ।

लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए । त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७