१६ वर्षीय फातीको डेब्यू खेलमै गोल, बराबरीमा रोकियो बार्सिलोना


१५ भाद्र २०७६, आईतवार
fati 7rVBG7TLpy

काठमाडौं, १५ भदौं । गिनीका १६ वर्षीय स्ट्राइकर अनसु फातीले व्यवसायिक फुटबलको डेब्यू खेलमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ओसासुनासँग संघर्षपूर्ण बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा ओसासुनाले सुरुवातमै अग्रता बनाएको थियो । ब्रेन्डन थोमसको पासमा रोवर्टो टोरेसले हेडमार्फत गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा बार्सिलानाले गोल फर्काउन सकेन । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले दोस्रो हाफको सुरुमै नेल्सन सेमेडोको स्थानमा फातीलाई व्यवसायिक फुटबलमा डेब्यू गराए । बार्सिलोनाको बी टिमबाट खेलिरहेका फातीले सिनियर टिममा डेब्यू गरेको ६ मिनेटपछि गोल गर्न सफल भए । उनले कार्लेस पेरेजको क्रसलाई सदुपयोग गरेका हुन् ।

१६ वर्ष ३०४ दिनका फाती ला लिगा इतिहासमै कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फ्याब्रिस ओलिंगाले १६ वर्ष ९८ दिन र इकर मुनिइनले १६ वर्ष २८९ दिनको उमेरमा गोल गरेका थिए ।

fati 2 BOfKb9bQ00

६४ औं मिनेटमा अर्का सब्स्टिच्युड स्ट्राइकर आर्थरले गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । उनले पनि पेरेजकै क्रसमा गोल गरेका हुन् । आर्थरले ५३ औं मिनेटमा राफिन्हालाई प्रतिस्थापन गरेका थिए ।

८१ औं मिनेटमा ओसासुनाले पेनाल्टीमार्फत गोल गरी घरेलु मैदानमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो । ओइरको क्रस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको पाखुरामा लागेको थियो । नयाँ नियमअनुसार ओसासुनाले पेनाल्टी पायो र रोवर्टो टोरेसले पेनाल्टीमा कुनै गल्ति गरेनन् ।

पहिलो खेलमा एथ्लेटिको विल्वाओसँग पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा रियल बेटिसमाथि ५–२ को सानदार जित रचेको थियो । चोटग्रस्त लियोनल मेस्सी, लुइस स्वारेज र ओस्मान डेम्बेलेको अनुपस्थितिमा युवा खेलाडीको भर परेको बार्सिलोनाले स्तरीय खेल देखाए पनि जित हासिल गर्न सकेन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७