युद्व साहित्यको रूप हो ‘११ नोभेम्बर’

युद्व साहित्य र नरेश काङमाङ एक–अर्काका परिपुरक नाम हुन् । युद्व साहित्यलाई बिधागत रूपमा स्थापित गराउन काङमाङको योगदान र अभियानले परिपुरक जस्तै बन्न गएको छ ।

काङमाङ आफैमा युद्वका साक्षी हुन् भने युद्व साहित्यलाई बिश्वव्यापीकरण अभियानका अभियान्त पनि । काङमाङले युद्वको वास्तिकतालाई साहित्यमार्फत उजागर गरे । जसबाट युद्वका कुराहरूलाई बिधागत लेखनको रूपमा स्थापित गराउन चाहे । त्यसैको फलस्वरूप युद्व साहित्यलाई परिचित गराए ।

युद्वमा हुने कारूणिकता, बाध्यता र बिवशतालाई साहित्यमार्फत आम पाठकमा उजागर गराउनु र युद्व साहित्यलाई विश्व सामु स्थापित गराउने कदम सबैको बीचमा सह्रानीय छ । काङमाङले बेलायती सैनिक जीवनमा रहँदा देखेका र भोगेका कुराहरूलाई मात्रै युद्व साहित्यमा समावेश गरेका छैनन्, देशमा चलेको दशक लामो युद्वले युवा जमातलाई पारेको असरहरूको केहि बिषय पनि ‘११ नोभेम्बर’ कथा संग्रहमा समाबिष्ट गरेका छन् ।

युद्व साहित्यलाई बिधागत रूपमा स्थापित गराउन काङमाङले थालेको अभियानको रूपमा रहेको ‘११ नोभेम्बर’ कथा संग्रह त्यसैको पछिल्लो कडी हो । ‘११ नोभेम्बर’ कथा संग्रहमा वीरगति पाएका, वृद्धावस्थामा पुनः बेलायत गएर दुःख पाएका र पहिलो विश्वयुद्ध लड्ने गोर्खालीहरूको दर्दनाक कथा यसभित्र संग्रहित छन् ।

लेखक स्वयम् पनि एक योद्धा भएकाले कथाले वास्तविकता बोलेको छ । उनी भाग्यले बाँचे र मरेकाहरूको हुबहु कथा लेखेका छन् । उनी ‘युद्ध साहित्य’ नामक साहित्यिक अभियान र गोरा सैनिकसँग गोर्खा सैनिकको सम्मान हैसियत निमार्णका अभियान्ता पनि हुन् ।

पहिलो विश्वयुद्ध बेल्जियमको दक्षिण र फ्रान्सको उत्तर–पश्चिममा रहेको फ्रेन्डस् फिल्ड्समा शुरु भयो । जसमा नौ दशमलव सात मिलियन सैनिक (आर्मी) को मृत्यु भयो भने १० मिलियन सर्वसाधारणले ज्यान गुमाए । पछि आएर सन् १९१८ मा युद्ध समाप्त भएको घोषणा भयो । कति गोर्खालीले वीरगति पाए, कति हजारको अङ्गभङ्ग भयो त्यो त बेलायतसँग पनि तथ्याङ्क छैन ।

तर, सन् १९१४ अक्टोबरमा लाहोरबाट करीब आठ सय गोर्खा सैनिक युद्धका लागि बेल्जियम पु¥याइएको थियो । लाहोरबाट लगिएको हुनाले गोर्खा सैनिकलाई बेल्जियमको मेनिनगेटमा इण्डियन सेना भनेर उल्लेख गरिएको छ ।

११ नोभेम्बर युद्व साहित्य कथा संग्रह हो । युद्व साहित्य लेखन बिश्वमा क्रिमियनको युद्वपछि भएको थियो । नेपाली साहित्यमा छिटफुट रूपमा युद्व साहित्य देखिएको पाइए पनि यसको बिधागत लेखनमा कसैले कलम चलाएका थिएनन् । नेपाली साहित्यमा युद्व साहित्य अभियानका अभियान्ताहरूमा अपजसे कान्छा, काङमाङ नरेश र गणेश राई छन् ।

११ नोभेम्बर कथा संग्रह गोर्खा भर्ती र त्यसपछिका वास्तबिक घटनाहरूको सार रूप हो । ०४ बर्ष अघिदेखि गोर्खा भर्तीको नाममा बेलायती सैनिकमा भर्ना भएका नेपाली युवाहरूको कारूणिक अवस्था, बाध्यता र विबशताहरू छन् । बेलायतको राष्ट्रियता र राजमुुकुटको रक्षार्थ इमान्दारी र बहादुरीपूर्वक सेवा गर्ने गोर्खामाथि गरिएको बिभेदको ज्वलन्त उदाहरण नै ११ नोभेम्बर हो ।

कुनै बेला शासकहरूले जवरजस्ती रूपमा गोर्खा भर्तीको नाममा नेपाली नागरिक मुलतः आदिवासी जनजाति युवाहरूलाई पठाएका थिए । पछिल्लो समय गोर्खा भर्ती संस्कृतिको रूपमा बिकास भए पनि बिभेदपूर्ण अबस्था भने कायमै छ ।

गोर्खा भर्तीले नेपाली युवाहरूमा आफ्नो परिवारसँग छुट्टिनु पर्ने बाध्यता त छँदैछ । आफ्नो जीवन समेत खुकुरीको धारमा राखेर संघर्षपूर्ण जीवन ज्युँनु पर्ने अबस्था पनि छ । गोर्खा भर्तिबाट नै बेलायतले आफ्नो राष्ट्रको रक्षा गर्‍यो । तर, बफदारीपूर्वक भूमिका निर्वाह गर्ने गोर्खामाथि उसले बिभेदपूर्ण नीति अबलम्बन गरी नै राख्यो ।

११ नोभेम्बरमा गोर्खा भर्तीपछि सिर्जना भएको वास्तविकताको सार रूप छन् । यसले पहिलो र दोस्रो बिश्वयुद्व र त्यसपछिका युद्वहरूमा गोर्खाहरूले भोगेको अबस्थालाई विश्लेषण र चित्रण गरिएको छ । ११ नोभेम्बर कथा संग्रहमा समाविष्ट कथाहरूमा गोर्खाहरूले बिश्वको विभिन्न मुलुकहरूमा बेलायतको तर्फबाट गरेका युद्वका प्रभाव, असर र त्यसले सिर्जना गरेका वास्तविक रूपहरूलाई प्रतिनिधित्व गरेको छ ।

यस कथा संग्रहमा नेपाली ग्रामीण परिवेशको अवस्था, माओवादी द्वन्द्व समेत जोडिएको छ । मुख्य रूपमा गोरखा भर्ती र त्यसपछिको अवस्थाहरूलाई चिरफार गरिएको छ । ११ नोभेम्बर कथा संग्रहमा तक्मा, एक सेकेण्ड, कान्ते अथवा क्रान्तिसिं, ढङलङ बजु, डिर्भाेस, ११ नोभेम्बर र लुङटारीबुङ सात वटा कथाहरु छन् ।

जसमा केही मात्र नेपालका कथा छन् भने धेरै युद्धमै कथा केन्द्रित छ । युद्धमा जानु अघिल्लो दिन, श्रीमान् श्रीमतीबीच संवाद हुन्छ, ‘तपाईं जस्तो जानु भएको छ, त्यस्तै फर्कनुहोस् । तपाईंलाई केही नहोस् !’ यो संवादमा श्रीमतीले आफ्नो श्रीमानलाई लगभग माया मारिसकेको अवस्थामा देखाउँछ । ‘तक्मा’ शीर्षकमा रहेको यो कथामा लडाईलाई सचित्र रूपमा नियाल्न पाइन्छ ।

तालिवानका बीच अफगानिस्तानमा खटिएको यसको मुख्य पात्रले पटक–पटक कामना गर्छ–एकै गोलीमा मर्न पाऊँ । गोली टाउकोमा लागोस्, गोली मुटुमा लागोस्, त्यही ठाउँमा १२्र जना नेपालीको बिभत्स हत्या गरिए जस्तो छटपटाएर मर्न नपरोस् । यसमा गोराहरूले गोर्खालीलाई कसरी विभेदमा पारे भन्ने कारुणिण कथा छन् ।

कथाभरी पातलो तर, रोचक तरिकाका विम्बहरू यदाकदा प्रयोग गरिएको छ । ‘आमाको गुन्युलाई ज्याकेट जस्तो ओढेको’ वाक्यले महिलाहरूमा सम्मानको भावना रहेको देखाउँछ । हिन्दू संस्कारमा प्रायः महिलाका वस्त्रलाई अपमानित गर्ने चलन छ । जस्तो कि कुनै पुरुषले नराम्रो काम गरे उसलाई सिन्दूर पोते र गुन्युचोली लगाई दिएर सजाय दिइएको देखाउने गरिन्छ ।

प्रायः पुरुष नेताहरूको फोटोलाई विपक्षी दलका जनताले यसो गर्ने गरेका छन् र थिए । यो पंक्तिकारले फेसबुक स्टाटसमा सात वर्ष पहिले त्यस्तो फोटोलाई इंगित गर्दै लेखेको थियो, ‘यहि गुन्युमा तपाईंको बाल्यकाल न्यानो बित्यो, यही सिन्दूरपोते आफ्नी श्रीमतीको सिउँदोमा, गलामा देख्नु भएन भने आफू ज्युँदो नरहेको महसुस गर्नुहुन्छ ।

तर यहि सिन्दूर पोते र गुन्यु मन नपरेका पुरुषलाई लगाई दिंदा सजाय र बेइज्जती गरेको ठहरिन्छ ?’ लेखक काङमाङले यहि गुन्युलाई कति सम्मानका साथ छोराले ज्याकेट मानेर ओढेको कुरा लेखेका छन् ।

कथामा भित्र वास्तविक नेपाली जनजीवनको रमाइलो प्रसङ्गहरुलाई पनि राखिएको छ । ‘एक सेकेण्ड’ यो कथाभित्र बेलायती सेनामा बहादुरीपूर्वक युद्व, युद्व कौशलका कुरासँगै माओवादी जनयुद्व लडेका युवा लाहुरे बनेर अफगानिस्तानको युद्वमा दुवै खुट्टा गुमाउनु परेको पीडादायी अबस्था र बहादुर गोर्खाको यथार्थता चित्रित गरिएको छ । लामो समयदेखि बेलायती सैनिकमा काम गर्ने गोर्खाहरूमाथि गरिएको विभेदपूर्ण अवस्थाले निम्ताएको समस्या र बिद्रोहहरू पनि छन् ।

कथाका मुख्य पात्र हरिबहादुर बुढामगरको जीवन नै पुरै युद्धले परिवर्तन भएको छ । माओवादी जनयुद्वमा दुई बर्ष सामेल भई लाहुरे बनेर अफगानिस्तानको युद्वमा दुवै खुट्टा गुमाउनु परेको पीडादायी अबस्थाले गम्भिर बनाउँछ । वेलायतको बर्मिङहामस्थित सेलीयोर्क हस्पिटलमा आईसियुमा हरिको उपचार भईरहेको चित्रले गम्भिर बनाउँछ । दुई बर्षीय छोरो आएर हरिको काखमा बस्न खोज्छ ।

तर, हरिको साथमा केहि हप्ता अगाडि छोरोले बसेको काख अफ्गानमा छाडेर आएको घटनाले जोकोहीलाई एकछिन स्तब्ध बनाउँछ । र, उनले दुबै खुट्टा गुमाएपछि समाजमा मानसिक रुपमा सामेल हुन अर्को संघर्ष गरेका छन् । बनावटी खुट्टाको सहायतामा छ हजार मिटर अग्लो हिमाल आरोहण गरिसकेका छन् । सन् २०२० मा सगरमाथा चढ्ने योजनाले धेरैलाई प्रेरणा मात्रै हैन साहस र उर्जा दिन्छ ।

माओवादी द्वन्द्वकालमा क्रान्तिसिंको बाउ सेनाको गोलीले घाइते हुन्छ । त्यहि कारण क्रान्तिसिं घरबाट भागेर काठमाडौं आएर संघर्ष गर्छ । एउटा बालकले गरेको संघर्षको कथा हो । अबैध यौन बजार । काठमाडौंको धुलो र धुवा । मापदण्ड बिपरीत बनाइएका बाटाहरु । यस कथाको भूगोल काठमाडौं भएता पनि देशको अनुहार समेटेको छ ।

बेलायतले गोर्खाहरूलाई लामो समयदेखि विभेद गर्दै आईरहेका बेला सन् २००६ बेलायतको उच्च अदालतको फैसालाबाट गोर्खा र उनका परिवारलाई आवासीय भिसा दिने निर्णयपछि धेरै गोरखाहरू बेलायत गए । बेलायत गएपछि बृद्व गोर्खा र उनका परिवारले भोग्नुपरेको समस्यालगायत मानवीय समवेदनालाई यो कथाले प्रतिनिधित्व गरेको छ ।

बृद्व अबस्थामा बेलायतमा बसोवास गर्ने गोर्खा र उनका परिवारको उतार चढाव, परिवारसँगको बिछोड, पारिवारिक बिचलन, गोर्खामाथि भएको बिभेद जस्ता कुराहरूको चिरफार यस कथामा गरिएको छ ।

जीवनको उत्तरार्धमा बेलायत गएका भूपु बृद्ध लाहुरे र लाहुरेनीहरुको कथा पनि हो । आफ्नो छोरा छोरी र आफन्त नभएकाहरुको समस्या के–के छन् यो कथाभित्र छ । यो कथा पढेर बेलायतमा एक्लो जीवन बिताइ रहेका बृद्धाहरुको समस्याहरु बुझ्न सकिन्छ । र, एउटी बिधुवी लाहुरेनी ढङ्लङ बोजुले भोगेको दुःखद कथा नै सबै विधुवाहरुको कथा हो भन्न सकिन्छ ।

वेलायती सेनामा गोरा र गोर्खाली सिपाहीलाई फरक व्यबहार गरिएको यो कथामा पाइन्छ । घाइते डम्बरले गोर्खा पल्टनमा भोगेको पीडाले सबैलाई मर्माहत बनाउँछ । आन्तराले भोगेको लाहुरेनी जीवन सबैले सोंचे जस्तो छैन । आन्तरासँग डम्बरको डिभोर्स हुने सोची रहन्छन् पाठकले । तर, श्रीमान श्रीमतीको डिभोर्स भने हुँदैन ।

धर्मध्वज राईले त्यो बेला पक्लेहवामा पण्डितलाई मोहोर, सुकी पनि नदिनु । पण्डितलाई नढोग्नु र पानी पतिया पनि नगर्नु एउटा ठूलो बिद्रोह हो । जातीय बिभेद र सामाजिक विभेदको विषयमा यस कथामा उठाएको मुद्दा हो ।

हितकुमारले वेलायत गएका लाहुरेहरुलाई फर्केर धरान आउ भनी आग्रह गर्छ । आफ्नो माटोको कुरो गरेको छ उसले । राष्ट्रियताको कुरो उठाएको छ । पहिलो विश्व युद्ध समाप्त भएको दिन ११ नोभेम्बर भएकाले कृतिको नाम यहि राखिएको बुझ्न सकिन्छ ।

कथाको मुख्य पात्र एउटा आदिवासीको छोरो उर्जाहाङ राई लाहुरेको लागि गल्लासँग छाती नपाएन । दुःखमा पढ्दै गयो । स्कूलमा इतिहास पढाउने सरले भनेको यलाखोम पढ्न गयो र पढिसकेर उपप्राध्यपक भयो र साँस्कृतिक पहिचानलाई जोगाउन मुन्दुमको रिसर्च गर्न थाल्यो ।

सांस्कृतिक चेतमा लेखिएको कथा हो यो ‘लुङटारीबुङ’ अर्थात ढुङ्गामाथि फूल्ने फूलको दुःखद प्रकृतिलाई राज्यमा पहिचानविहीन भएका समुदायको प्रतिकको रुपमा लिइएको जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्