हरितालिका तीज : लोपोन्मुख मौलिकता र परिवर्तित समाज


१६ भाद्र २०७६, सोमबार
bhawana

-भावना लुईटेल 
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यहाँ हरेक जातिका आ–आफ्नै रीतिरिवाज, परम्परा, भाषा र सँस्कृति छन् । हरेक जातजातिले आफ्नो चाडपर्व आ–आफ्नै परम्पराअनुसार मनाउने गर्छन् ।

जसमध्ये परापूर्वकालदेखि हिन्दू नारीहरूले मनाउँदै आएको चाडमध्ये ‘हरितालिका तीज’ लाई हिन्दू नारीहरूको महान् चाड मानिन्छ । हरितालिका तीज अर्थात नामले नै हरि अर्थात विष्णुको उपासना भन्ने जनाउँछ ।

अर्थात यस चाडमा महिलाहरूले हरिको आराधना गर्दै आफ्नो पतिको लामो आयुका लागि ब्रत बस्ने गर्दछन् । यसरी व्रत बस्दा पतिको आयु लामो हुने, पाप पखालिने विश्वास रहिआएको छ । लामो समयदेखि भेट नभएका चेली–माइतीको भेट गराउने, घर व्यवहारका अनेक दुःखेसो, सासुको बुहार्तन, लोग्नेको कर्कश व्यवहार सम्झी दुःख पोख्ने र दुःख भुलाउने भेटघाट गर्ने पर्वका रूपमा तीजलाई मनाइन्थ्यो ।

लोग्ने जस्तो भए पनि शिरका भगवान हुन् भन्ने मान्यता बमोजिम महिलाहरू पतिको दीर्घायुका लागि व्रत बस्ने गर्दथे । पूरानो परम्परा अनुसार माइतीबाट दाजुभाइ दिदीबहिनीलाई लिन जानुपथ्र्यो र चेलीबेटी माइतीमा आई तीज मनाउने गर्दथे । भदौ महिनामा पर्ने यस चाडमा परम्पराअनुसार अघिल्लो दिन दर पकाउने गरिन्थ्यो । दर अर्थात मिष्ठान्न खाना ।

teej 1 1

जसमा खिर, ढकने पकाएर चेलीबेटीलाई खुवाउने गरिन्थ्यो । व्रत बस्ने दिनको राति अर्थात बिहान हुनुभन्दा अगाडि नै ब्रतालु महिलाहरू दर खाने गर्दथे र दिनभर निराहार व्रत बस्ने गर्दथे । बेलुका घाम अस्ताउनुअघि केही खानु हुँदैन भन्ने परम्परा र मान्यता छ ।

तीजको मान्यताको बारेमा केलाउँदा तथा बुढापाकाहरूको भनाईलाई विश्लेषण गर्दा केसम्म पाइन्छ भने, ब्रतालु महिलाहरूले ब्रतको दिन पानी खाएमा आफ्नो पतिको रगत खाएसरह हुने र अन्न खाएमा पतिको मासु खाए सरह हुने विश्वास गरिन्थ्यो । यसबाट पुष्टि हुन आउँछ कि महिलाहरू दिनभर निराहार नै व्रत बस्ने गर्दथे ।

बुढापाकाहरूको भनाई अनुसार व्रत बसेको दिनको रातभर नाचगान गरेर बिहान भएपछि मात्र खाना खानुपथ्र्यो । अर्थात एक विवाहित महिलाले २४ घण्टा भोकै बसी पतिको लामो आयुका लागि निराहार व्रत बस्नुपथ्र्यो । यसरी विवाहित महिलाले मात्र मनाउँदै आएको तीजलाई परिमार्जन गरी कुमारी केटीले पनि असल पति पाउन मनाउने मान्यताको विकास भयो ।

यसरी चेली–माइतीको भेट हुने दिन र पतिको दीर्घायुका लागि हिन्दू महिलाहरूद्वारा मनाइने तीज आज पनि मनाइन्छ । यस चाडमा महिलाहरू रातो सारी र चोलीमा सजिई आफूलाई हरसम्भव सुन्दर देखाउने प्रयास गर्दछन् । व्रत बसेको दिन तीजको गीतमा छमछमी नाच्ने पनि गर्दछन् । समयको परिवर्तनसँगै चाडपर्व मनाइने तरिकामा पनि फरक आउन थाल्यो ।

हरेक चाडपर्वहरू भड्किला बन्दै गए । हरेक चाडपर्वहरू लुगा, फेसन, गरगहना प्रदर्शन गर्ने अवसर बन्न थाले । गीतहरू पनि भड्किला भड्किला आउन थाले । माक्र्सवादको सिद्दान्त अनुसार नै चाडपर्वमा पनि समाजमा हुनेखाने र हुँदाखानेबीचको खाडल देखिन थाल्यो । अर्थात हुनेखानेका लागि पो चाड त हुँदाखानेका लागि त कहाँबाट ल्याउँ माड भनेझै हुन थाल्यो ।

सँस्कृतिको आत्मसाता त नेपालीहरूले गर्दै आएका छन् तर, चाडपर्वको मौलिकता भने हराउँदै गएको पाइन्छ । परम्परागत रूपमा दूधजन्य परिकारहरूलाई दर मानिएकोमा अहिले आएर दरको नाममा मद्यपानलाई पनि प्रयोग गर्न थालियो । अर्कोतर्फ चाडपर्वलाई अझ भड्किलो बनाउने कडीको काम सामाजिक सञ्जालहरूले गरिरहेको पाइन्छ ।

महिनौ अगाडिबाट सामाजिक सञ्जालमा गहनाहरूले पुरिएका महिलाका तस्वीरहरू भेटिन्छन् । सामाजिक सञ्जालहरू सँस्कृतिको जगेर्ना गर्नेभन्दा पनि विकृति फैलाउने माध्यमका रूपमा उपयोग भइरहेको पाइन्छ ।

अर्कोतर्फ व्रतको दिन समाजमा तीज सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । जहाँ तीजको गीतमा महिलाहरू छमछमी नाचेको भेटिन्छन् । त्यो उत्तेजक भीडको अवस्थाको विश्लेषण गर्दा लाग्छ कि ‘मेला बजारको त्यो भीड एक सुन्दर बगैँचा हो जहाँ अनेकौ पुतलीहरू उडिरहेका छन् र भमरा पनि फूलमा भुनभुनाइरहेको छ ।’ अर्को विश्लेषणबाट यस्तो देखिन्छ कि ‘महिलाहरू बजारमा हार चढाएर राखिएका सुन्दर प्रतिमाहरू हुन्, जसको मूल्य अर्कैले निर्धारण गर्दछ ।’

एकातिर परम्परा र अर्कोतर्फ धर्मका नामको अस्तित्व, समाजको परिधिबाट के सबै महिलाहरू माथि उठिसके त ? पक्कै छैन । केही महिलाहरू बाहेक अझ पनि ग्रामीण भेगमा महिलाको अवस्था जहाँको त्यही छ ।

उदाहरणका लागि छाउपडी, देउकी प्रथा आदिलाई नै लिन सकिन्छ । यसरी चाडपर्व, मूल्य, मान्यता, समाज, सँस्कृतिले महिलालाई कतै न कतै पछि पार्दै आएको छ तर, पनि यहि मान्यता र परम्परामा महिला आफूले आफूलाई गर्व गर्दै अगाडि बढिरहेको पाइन्छ । यसको प्रत्यक्ष उदाहरणका रूपमा तीजलाई लिन सकिन्छ ।

अन्ततः आधुनिक विचारधाराबाट विश्लेषण गर्दा एकातर्फ प्रश्न यो छ कि, यदि महिलाहरू पतिको दीर्घायुका लागि व्रत बस्नु पर्छ भने के पतिले चाहिँ पत्नीको दीर्घायुका लागि व्रत बस्नु पर्दैन ? धर्मका पुजारीहरूले यो नियम किन बनाएनन् ? के धर्म महिलाका लागि मात्र हो ? आज पनि पत्नीहरू पतिका लागि व्रत बस्ने गर्दछन् ।

संविधानको धारा १९, अर्थात समानताको हक कहाँ छ ? के धर्ममा समानता लागू हुदैन र ?यसबाट पितृसत्तात्मक समाजको अनुहार ऐनामा प्रष्ट देखिन सकिन्छ । फेरि अर्कोतर्फ परम्परावादी धाराबाट जोडेर हेर्दा समानतालाई छाडी परम्पराकै आत्मसात भन्न सकिन्छ ।

तर, पनि चाडपर्वको नै विश्लेषण गर्दा पनि महिलाहरूले धर्म र परम्पराको नाममा आफूलाई कमजोर बनाइरहेका छन् । यसको मतलव यो पनि हैन कि चाडपर्व मनाउनै छाडौं । तर मतलव यो हो कि चाडपर्व मनाउँ त यसरी जसले मौलिकताको पनि प्रतिनिधित्व गरोस्, आधुनिकता पनि झल्कियोस् ।

आधुनिकताको नाममा भड्किलोपन रोक्नु नै जायज देखिन्छ । परिवर्तन र आधुनिकताको नाममा अब यहि तरिकाले तीजको मौलिकता लोप हुँदै जानु हो भने भाबी पिढीले देशको इतिहास, सँस्कृति, सभ्यता र मान्यताका बारेमा कसरी सिक्न सक्लान् ? कसले सिकाउँलान् ?

यसरी एकातर्फ सँस्कृति र अर्कोतर्फ आधुनिकता यी दुवै तीजका समकालील देखिन्छन् । अर्थात संस्कृतिको जगेर्ना गर्ने नाममा भित्रिएको आधुनिकताले धनी र गरीबबीचको खाडल झन झन बढाउँदो छ । ल्यसैले तीजको सँस्कृतिलाई मौलिकतामा ढाल्नु आजको समाजको आवश्यकता देखिन्छ ।

जसबाट मात्र सभ्यता र इतिहास जोगिन सक्छ । हैन भने नेपालको सँस्कृतिलाई अक्षरको रूपमा किताबमा उतारी गुगलमा खोजेर चित्रको माध्यमबाट भाबी पुस्तालाई देखाउनु बाहेक अन्य विकल्प रहने छैन र अवशेष खोज्न सङ्ग्रहालय जान नपर्ला भन्न सकिन्न ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७