उपनिर्वाचनका लागि दल दर्ता आह्वान, नेकपा र समाजवादी पार्टीले फेरी दर्ता गर्नुपर्ने 


१६ भाद्र २०७६, सोमबार
nirbachan aayoga

 काठमाडौं, १६ भदौ ।   निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय गरेको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।  आयोगले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनको लागि सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।

आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ ।  

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।

नेकपा, समाजवादी पार्टीले फेरी दर्ता गर्नुपर्ने 

उपनिर्वाचनमा भाग लिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, समाजवादी पार्टी नेपाल, विवेकशील पार्टी र साझा विवेकशील पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलहरुले पुन दर्ता गर्न पर्ने भएको छ ।

संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुनः दल दर्ता गर्नुपर्ने भएको हो । 

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तह निर्वाचनका लागि दर्ता गरिसकेका राजनीतिक दलहरू पुनः दर्ता गर्न नपर्ने आयोगले जनाएको छ । त्यस निर्वाचनपछि दर्ता भएकाहरूले भने निवेदन दिन पर्ने भएको हो ।

नेकपाले यसअघि पार्टी एकीकरण गरे पनि छुट्टै नाम तथा चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिएको हुँदा अहिले दर्ता गर्न परेको हो । भने नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकीकरण भई समाजवादी पार्टी नाम रहेकोले पुनः दर्ता गराउन परेको हो।

नयाँ चुनाव चिन्ह राख्न चाहने दलहरूले पनि तीन वटा निर्वाचन चिन्ह उल्लेख गरी बुझाउन आह्वान गरेको छ ।

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७