गृह मन्त्रालयले माग्यो दुई हजार कर्मचारी, अनलाइनबाटै दरखास्त दिन सकिने


१७ भाद्र २०७६, मंगलवार
griha

काठमाडौं, १७ भदौं । गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका माग गरेको छ । गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारीका लागि दरखास्त माग गरेको हो ।

इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिष्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ । दरखास्तका लागि १५ दिनको समय दिइएको छ । दरखास्त फारम http://application.donidcr.gov.np मा हेर्न सकिन्छ ।

एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन् । प्लस टु र एसएलसी वा सो सरह उत्तीर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ । नाम निकाल्नेहरूले कम्तीमा एक बर्ष रोजगार पाउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७