भाडा वृद्धिको ‘बार्गेनिङ’ गर्दै बुकिङ खुलाउन ‘आलटाल’


१७ भाद्र २०७६, मंगलवार
new Buspark

काठमाडौं, १७ भदौं । नेपाली चाड दशैं नजिकिएसँग अध्ययन, जागिर र अन्य विभिन्न कामका लागि काठमाडौं उपत्यकामा रहेकाहरु विस्तारै बाहिरिने क्रम नजिकिएको छ ।

तर, चाडपर्व नजिकिए पनि यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको बुकिङ खुलाउन आनाकानी गरिरहेका छन् । विगत वर्षमा दशैं भन्दा एक महिना अगाडि नै बुकिङ खुलाउनु पर्नेमा यस पटक भने बुकिङ खुलाउनेतर्फ यातायात व्यवसायीले आलटाल गर्दै आएका छन् ।

यातायात व्यवसायीहरुले आउँदो दशैंमा सार्वजनिक यातायातको भाडा वृछि गरिनु पर्ने ‘बार्गेनिङ’ थालेका छन् । दशैंका लागि सार्वजनिक यातायातको बुकिङ खुल्ला गर्नेबारे व्यवसायीबीच अनौपचारिक छलफल अगाडि बढेको भए पनि कहिलेदेखि खुलाउने भन्ने विषयमा कुनै ठोस निर्णय भइनसकेको व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो समय दशैंको बुकिङ खुलाउनुअघि भाडा वृद्धिका लागि व्यवसायीहरुले सरकारले दवाव दिंदै आएको स्रोतले जानकारी दिएको छ । यस विषयमा सरकार पनि नरम देखिएको छ ।
यातायात व्यवसायीको भाडा वृद्धिको दवाव र सरकारको नरमपनाका कारण आउँदा दशैंमा यात्रुहरुले गाडीभाडाका लागि बढी भाडा जोहो गर्नुपर्ने देखिएको छ ।

यात्रुको चाप बढ्ने उक्त समयमा यात्रुलाई चर्को भाडाले समेत मारमा पार्ने देखिएको छ । दशैं नजिकिएसँग काठमाडौं उपत्यकाबाट लाखौंको संख्यामा सर्वसाधरण गृह जिल्ला फर्किन्छन् । व्यवसायीकै दबाबमा गत वर्ष पनि सरकारले असोज ६ गते भाडा वृद्धि गरेको थियो ।

गत वर्ष पनि अहिले जस्तै भाडा वृद्धि नगरिए अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीले अडान राखेका थिए । यो अडानका कारण व्यवसायीका अगाडि सरकारले घुँडा टेकेर १० प्रतिशत भाडा बढाएको थियो ।

यो वर्षको जेठ ३० गते पनि यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको थियो । असार १ गतेदेखि लागू हुने गरी उपत्यकाभित्र चल्ने सवारीमा १२ प्रतिशत र लामो दूरीका मालबहाक र सार्वजनिक यातायातमा २० प्रतिशत भाडा वृद्धि भएको थियो। तर उपभोक्ताको चर्को दबाब थेग्न नसकी विभागले पाँच घण्टामै निर्णय फिर्ता लिएको थियो ।

उपभोक्तावादी माधव तिमिल्सिनाका अनुसार अहिले फेरि यातायात व्यवसायीले भाडा वृद्धिका लागि दबाब दिन शुरु गरेका छन् । विभाग दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीमा जुटेको छ । विभाग यही विषयमा मंगलबार उपत्यकाका यातायात कार्यालका प्रमुख र ट्राफिक प्रहरीसँग छलफल गर्ने तयारीमा छ ।

अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा बुधबार यातायात संघका प्रतिनिधिसँग विभागको छलफल हुँदैछ । उक्त छलफलमा यातायात संघका प्रतिनिधि र विभागबीच भाडा वृद्धि गर्ने विषयमा सहमति बन्ने विभागका अधिकारी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७