ओढारमा भेटिएको १६ किलो सुन काण्ड : विभागले माग्यो ३५ करोड र ६ वर्ष कैद


१८ भाद्र २०७६, बुधबार
gold

गोरखा, १८ भदौं । राजश्व अनुसन्धान विभागले १६ किलो सुन तस्करीको अनुसन्धान सकेर मिसल र अभियोगपत्र मंगलबार जिल्ला अदालत गोरखालाई पठाएको छ ।

राजश्व विभागले उक्त तस्करीको १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिबानासहित ६ वर्ष कैद मागदाबी गरेको छ । गुरुङ्ग गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका थिए ।

गएको साउन ९ गते बिहान गोरखाको धार्चे गाउँपालिका ३ उहीयाको ओडारबाट १६ किलो सुन बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको हो । विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलबार बयान लिइएको जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताएका छन् । बुधवार थुनछेक बहस हुनेछ ।

अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भइसकेको जानकारी दिंदै जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भने, ‘प्रतिवादीविरुद्ध राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्धा दर्ता गरिएको छ ।’ राजस्व अनुसन्धान विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

राजश्व छलेर करोडौं मूल्य पर्ने सुन आयात गरिएको अनुसन्धानमा पाइएको बताउँदै सुन प्रकरणको अनुसन्धान अधिकृतको रुपमा काम गरेका विभागका निर्देशक रामप्रसाद रेग्मी भन्छन्, ‘त्यही सुन किन्नका लागि नेपाली पैसा अवैध रुपमा चीन पठाइएको पाइयो ।’

बरामद भएको सुनको मूल्य ८ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको विभागले जनाइएको छ । त्यसलाई विगो मान्दा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३३ अनुसार गुरुङले विगोको २ गुणा जरिवाना र ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने विभागले जनाएको छ । यस्तै विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १७ अनुसार विगोको ३ गुणा सजाय र थप ३ वर्ष कैद हुनुपर्ने विभागको अनुसन्धानको निचोड छ ।

प्रतिवादी धनकमल गुरुङले बयानमा लोप्साङ लामा भन्ने ब्यक्तिबाट आफूले सुन लिएको बताएका छन् । ‘आफूलाई कम सजाय होस् भनेर उनले लामाको नाम लिएका पनि हुन सक्छन्’, रेग्मीलेले भने, ‘तर उनको बयानका आधारमा तीन पुस्तेसहित यकिन ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिनेछ, हामीले प्रहरीमार्फत बुझ्दा थुप्रै लोप्साङ लामा भेटिए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७