सशस्त्रको खरिदमा सेटिङ : व्यापारीको स्वार्थमा ‘डीएमएस’ बुटको ‘स्पेसिफिकेसन’ परिवर्तन


१८ भाद्र २०७६, बुधबार

काठमाडौं, १८ भदाै  :  सशस्त्र प्रहरी बलले २०७६ भदौ ६ मा ३५ हजार सेट चुस्तासहित १० किसिमका सामानका लागि टेन्डर गरेको छ । टेन्डर गर्दा केही व्यापारीको स्वार्थमा आईजीपी शैलेन्द्र खनालले डीएमएस बुटको स्पेसिफिकेसन परिवर्तन गरेका छन् । बुटबाहेक अरू सामानको स्पेक परिवर्तन गरिएको छैन ।

सशस्त्रका आईजीपी खनालको निर्देशनमा डीएएमएस बुटको स्पेक परिवर्तन गरिएको छ । ३७ हजार जोर डीएमएस बुट करिब १० करोड रुपैयाँबराबरको छ । नेपालमा होइन भारतमा समेत नबन्ने खालको जुत्ताको स्पेक राखिएको छ । दीपक मल्होत्राको डिजाइनमा आईजीपी खनालले डीएमएस बुटको स्पेक परिवर्तन गरेको स्रोतको दाबी छ ।

मल्होत्राको सिंगापुर र चीनमा पनि कारोबार छ । त्यही भएर उनी स्पेक परिवर्तन गरी बुटको ठेक्का लिने दाउमा रहेको बताइन्छ । मल्होत्रा र आईजीपी खनालबीच अति राम्रो सम्बन्ध रहिआएकाले पनि उनकै डिजाइनमा स्पेक परिवर्तन गरिएको दाबी स्रोतले गरेको छ । सामसुङ मोबाइल सेटका आधिकारिक बिक्रेता रहेका मल्होत्राले हरेक नयाँ मोडल आउँदा खनाललाई बोलाउने र उनी जाने गरेका छन् ।

झापाका इन्द्र श्रेष्ठ र इन्द्र ओडारी नामका व्यापारी पनि सिन्धुपाल्चोकका बच्चु पौडेललाई साझेदार राखेर सुरक्षा फौजको बन्दोबस्तीका सामानको कारोबारमा अगाडि बढेका छन् । डलर, रक्तचन्दनदेखि सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेका पौडेलको पनि चीनसँग राम्रो कनेक्सन छ । श्रेष्ठ र ओडारीले चुस्ताको स्पेक पनि परिवर्तन गर्न चलखेल गर्दै आएका थिए । तर, सशस्त्रको चुस्ताको डिजाइन राम्रो भएकाले पनि उनीहरू असफल भएका छन् । झापा घर भएका उनीहरूले प्रधानमन्त्री केपी ओलीको नाम लिँदै ठेक्कापट्टा लिने गरेका छन् ।


सशस्त्रले २०७४ माघमा गरेको टेन्डरमा पनि श्रेष्ठ र ओडारीले ठेक्का पाएका थिए । तत्कालीन आईजीपी सिंहबहादुर श्रेष्ठले टेन्डर रद्द गरेपछि सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिएर आशयपत्र जारी गरिसकेको टेन्डर रद्द गर्न नपाउने भनी सदर गराउने काम पनि उनीहरूले नै गरेका थिए । अहिले उनीहरूको मात्र कारोबारका आधारमा नपुग्ने भएपछि बच्चु पौडेललाई पनि साझेदार राखी सशस्त्रको टेन्डरमा लागेका छन् ।

सशस्त्रले भदौ ६ मा पार्का ज्याकेट २० हजार थान, स्लिपिङ ब्याग १५ हजार थान, जर्सी ५ हजार थान, उलन पाइन्ट २ हजार मिटर, म्याटे«स ६ हजार थान, ट्याक्टिकल वेब ब्याग १० हजार वटा, पन्चु ३० हजार सेटको टेन्डर गरेको छ । विगतमा गुणस्तर परीक्षणका लागि भारतको एसजीएस र आईटीएसमा पठाउने गरिएकोमा योपटक नेपालकै गुणस्तर विभागमा टेस्ट गर्ने निर्णय सशस्त्रले गरेको छ । नेपालका गुणस्तर विभागको परीक्षणमा प्रश्न उठेपछि नेपाल प्रहरीले भारतका एसजीएस र आईटीएसमा टेस्ट गराउने गरेको छ ।

सशस्त्रले पनि भारतमै टेस्ट गराउँदै आएकोमा आईजीपी खनालले नेपालमै टेस्ट गराउने निर्णय गराएका छन् । गुणस्तर विभागका प्राविधिक अधिकृत किरण सुवेदी र महानिर्देशक विश्वबाबु पुडासैनीका पीए कालिका बरालसँग सेटिङ मिलाएर टेस्टका लागि राम्रो छानेर नमुना लाने र सामान बुझाउँदा भने कमसल बुझाउने खेल ठेकेदारहरूको रहेको समाचार छ ।


सशस्त्रका आईजीपी खनालले बजेटमा डीएसपी पूर्ण साउद, प्रबन्धमा एसपी दीपेन्द्र साउददेखि सबैतिर आफ्ना एसम्यान सेट गरेका छन् । र, मनलागी खरिद गर्दै आएका छन् । आर्थिक प्रशासन महाशाखा, प्रबन्ध महाशाखा छुट्टै छ ।

भण्डारलाई पनि महाशाखा बनाइयो । आर्थिक प्रशासन र भण्डारमा एसएसपी छन् । तर प्रबन्ध महाशाखाको प्रमुखमा एसएसपी नराखीे एसपी दीपेन्द्र शाहलाई नै राखिएको छ । शाह आईजीपी खनालनिकट भएकाले कमिसनका कुरा नमिल्ने भएपछि महाशााखा बनाए पनि एसएसपी नराखी उनलाई नै प्रमुखमा राखिएको चर्चा हल्चोकमा हुने गरेको छ ।

-बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७