कमिसनकै लागि अनावश्यक गाडि खरिद


१८ भाद्र २०७६, बुधबार
Mahila Aayog copy राष्ट्रिय महिला आयोग

काठमाडौं , १८ भदाै :  दुई वर्षदेखि पदाधिकारीविहीन राष्ट्रिय महिला आयोगमा करोडौंको अनियमितता भएको छ । अध्यक्ष र सदस्यहरू अझै नियुक्ति नभइसकेको आयोगमा कर्मचारीहरूका मनपरीका कारण आर्थिक अनियमितता भएको हो ।

आयोगमा नयाँ नियुक्ति अझै भएको छैन । नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसकेको छैन ।तर, नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मतसम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो ।

त्यति मात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन् । पदाधिकारीका लागि भनी खरिद गरिएका पाँच गाडीमध्ये सबैभन्दा महँगो गाडी आयोगका पूर्वसचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका थिए । उनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि सो गाडी अहिलेका सचिव दीपेन्द्र काफ्लेले प्रयोग गर्दै आएका हुन् ।

सचिव ठाकुर र लेखा अधिकृत प्रकाश केसीको मिलेमतोमा आवश्यक नहुँदानहुँदै पनि मोटो रकम कमिसन पाउने आशामा आयोगमा गाडी खरिद गरिएको बताइएको छ । त्यतिबेला खरिद गरिएको अन्य चारवटा गाडी सिंहदरबारस्थित आयोगका कार्यालय परिसरमा प्रयोगविहीन अवस्थामा छन् ।
नयाँ गाडी खरिद गर्न गत मंसिरमा ३ करोड रुपैयाँ आयोगलाई निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार आयोगसँग यसअघि नै नौवटा गाडी छन् ।

तीमध्ये ६ वटा चालू अवस्थामा छन् भने बाँकी गाडी थन्क्याइएको छ । प्रयोग नभई थन्काइएका गाडी मर्मतसम्भार गर्न या लिलामी गर्न आयोगले कुनै पनि प्रक्रिया अघि बढाएको छैन । आयोगका सूचना अधिकारी ध्रुव क्षेत्रीले समेत सो खरिदमा कमिसन पाएको बताइएको छ ।

आयोगले ६८ लाख रुपैयाँमा खरिद गरेको बा२झ ४२४२ नम्बरको गाडी आयोगका सचिवले प्रयोग गर्दै आएका छन् । अन्य चारवटा गाडी बा२झ ४२३८, बा२झ ४२३९, बा२झ ४२४० र बा२झ ४२४१ नम्बर प्लेटका छन् । पछिल्ला चार गाडी प्रयोगविहीन अवस्थामा रहेको बताइन्छ ।

आयोगसँग हाल चालू अवस्थामा रहेका अन्य ६ वटा गाडी त्यहीँका उच्च कर्मचारीले प्रयोग गर्दै आएका छन् । महिला विकास प्रमुख मीरा शेरचनले बा१झ ९१८७, उपसचिव लक्ष्मी पाण्डेले बा२झ ८४४९, सहसचिव युवराज सुवेदीले बा२झ ९७४, कानुन उपसचिव कल्पना खतिवडाले बा२झ ८४५० र लेखा अधिकृत प्रकाश केसीले बा२झ ८४४८ नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएका छन् ।

बा१झ ६३४५, बा१झ ६४८५ र बा१झ ५६८६ नम्बर प्लेटका गाडी कार्यालय परिसरमै थन्क्याएर राखिएका छन् । तीमध्ये दुइटा गाडी मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको आयोगकै एक कर्मचारी बताउँछन् । सो विषयमा अख्तियारमा उजुरी परेको र अख्तियारले छानबिन गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।


२०७४ असोजदेखि आयोग पदाधिकारीविहीन अवस्थामा छ । पछिल्लोपटक २०७४ असोजमा कार्यवाहक अध्यक्ष भगवती घिमिरेको पनि अवधि सकिएको थियो । महिला आयोग ऐन २०७४ अनुसार आयोगका पदाधिकारी सरकारको सिफारिसमा संसदीय सुनवाइबाट अनुमोदन गरी नियुक्ति हुने व्यवस्था छ ।

-बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७