विवादित सुपुर्दगी विधेयक फिर्ता : रोकिएला हङकङकाे आन्दोलन ?


१८ भाद्र २०७६, बुधबार
hong kong chief executive 1

काठमाडौं, १८ भदौ : हङकङकी नेतृ क्यारी लामले विवादित सुपुर्दगी विधेयक फिर्ताको घोषणा गरेकी छन् । तीन महिना लामो राजनीतिक संकटपछि बुधबार नेतृ लामले विधेयक फिर्ताको घोषणा गरेकी हुन् ।

प्रस्तावित विधेयक विधायिका परिषद्मा छलफलअघि नै विरोध भएपछि जुन १५ का दिन कार्यकारी प्रमुख लामले पत्रकार सम्मेलनमार्फत स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

स्थगित गरिएको घोषणासंगै विधेयकको ‘मृत्यु’ भइसकेको भनिएता पनि आन्दोलनकारीहरुले पूर्ण फिर्ताको माग गरेका थिए । चालु विधायिका परिषद्को म्याद आगामी जुनसम्म मात्र रहेको र उक्त अवधिमा पुन पेश गर्ने संभावना नरहेको साथै नयाँ परिषद्मा विधेयक पेश गर्न नयाँ प्रक्रिया शुुरु गर्नु पर्ने प्रावधान रहेको सरकारको तर्क रहेको थियो ।

विधेयक फिर्ताले त्यहाँको अस्थिरता रोकिन्छ वा रोकिँदैन भन्‍ने अहिले केही संकेत छैन । अचानक आएको यस्तो निर्णयले थप संशय उत्पन्न गराएको बताइएको छ । हङकङमा आन्दोलनका क्रममा एक हजार १८३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कतिपयलाई चरम यातना दिएको भन्दै हङकङबासीले आन्दोलन गरेका थिए । उनीहरुले निष्पक्ष छानबिनका लागि एक स्वतन्त्र निकाय गठन गर्नुपर्ने मागसमेत राखेका छन् । 

समस्या के हो ?

hongkong

गत वर्ष ताइवानमा गर्भवती गर्लफ्रेन्डको हत्या गरी हङकङ प्रवेश गरेका अभियुक्त चान तोङ–काईलाई सुपुर्दगी ऐनमा रहेको अपूर्णता (लुपहोल) का कारण सुपुर्दगी गर्न नसकिएको तर्कसहित संशोधनको लागि विधेयक तयार गरिएको थियो ।

सरकारको तयारीपछि चीनको न्यायिक प्रक्रिया अपारदर्शी र निश्पक्ष नरहेको आरोपसहित हङकङका जो कोही विरोधीलाई सुपुर्दगी गरिने भन्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको माग विधेयक फिर्तासहित अहिले पाँचवटा रहेको छ ।

आन्दोलनकारीहरुले विधेयक फिर्तासहित आन्दोलनलाई दंगा करार गरिएको फिर्ता, प्रहरी दमनको जाचबुझ गर्न आयोग गठन, गिरफ्तार गरिएकालाई निःशर्त रिहा र राजनैतिक प्रक्रिया सुधार शुरु रहेका छन् । राजनैतिक सुधारमा विश्वव्यापी बालिक मतबाट कार्यकारी प्रमुखको चयन रहेको छ ।

एक देश, दुई प्रणालीको सिद्धान्तमा चलेका कारण चीन र हङकङका कानुन फरक छन् । सन् १९९७ मा ब्रिटेनबाट हङकङ आफ्नो अधिनमा ल्याउन चीनले परराष्ट्र र रक्षाका विषयमा बाहेक अरू विषयमा उसलाई बढी स्वायत्तता दिने वाचा गरेको थियो ।

तर चीन समर्थक सांसद क्यारी लामले आरोपितहरूलाई चीन, ताइवान र मकाउमा मुद्दा चलाउन मिल्ने गरि सुपुर्दगी गर्ने कानुनी परिवर्तन प्रस्ताव गरेकी थिइन् ।  उनले ताइवानमा बिदा मनाउने क्रममा आफ्नो प्रेमिकाको हत्या गरेर भागेर हङकङ आइपुगेको आरोप लागेका १९ वर्षीय हङकङ नागरिकको मुद्दालाई उदाहरणका रुपमा लिएर सो प्रस्ताव गरेकी थिइन् ।

ताइवानले सुपुर्दगीको माग गरेपनि हङकङले सुपुर्दगी सम्झौताको अभावमा अनुरोध पूरा गर्न नसकिने बताएको छ ।  प्रस्तावित कानुनले हङकङको स्वतन्त्रता खुम्चिने आलोचकहरुको चिन्ता छ ।

उनीहरूका अनुसार कानुन कार्यान्वयनमा आएमा हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्तलाई चीन, ताइवान र मकाउका अधिकारीहरूले सुपुर्दगीका लागि हङकङसमक्ष जुनसुकै वेला आग्रह गर्न सक्छन् । तर, कानुन समर्थकहरूले हत्याआरोपित एक सांसदलाई ताइवान पठाउन सो कानुन परिवर्तन गर्न खोजिएको बताएका छन् ।

कानुनमा प्रस्तावित परिवर्तनको ठूलो आलोचना भइरहेको छ । सो कानुनका विरोधीहरूले गत महिना सन् २०१४ यताको सबैभन्दा ठूलो विरोध प्रदर्शन गरेका थिए । व्यवसायीहरूले कानुनकै कारण मानिसको स्वतन्त्रता हरण हुने चिन्ता व्यक्त गरे । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७