प्रियंकालाई आमा बन्न किन पर्‍यो वाध्यता ?


१९ भाद्र २०७६, बिहीबार
Priyanka

काठमाडौं, १९ भदौं । हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाहा गर्न डराउँछन् । आमा बनेर अभिनय गर्दा हिरोइन बन्ने अवसर गुम्छ भन्ने सोचाइ उनीहरुमा व्याप्त छ । यसकारण

पनि पर्दामा हिरो वा हिरोइनको आमा बन्न डराउँछन् अभिनेत्रीहरु । तर, अभिनेत्री प्रियंका कार्की भने करिअरको मध्यविन्दूमै आमाको रोलमा लगालग व्यस्त हुन थालेकी छिन् ।
एकातिर हिरोसँग रोमान्स गरेका फिल्म हलमा लाग्दै गर्दा अर्कोतिर उनी आमा बनेका फिल्म पनि प्रदर्शन भइरहेका छन् ।

दर्शक कन्फ्यूज हुन थालेका छन् अब उनलाई हिरोइन भन्ने कि यो वा त्यो कलाकारको आमा ? उमेरले ३२ वर्षमा रमाइरहेकी उनीमा अझै केही वर्ष हिरोइन बनेर राज गर्ने उमेर, फिगर र सौन्दर्य सबै छ । तर, उनी आमाको रोल गर्न पनि तयार हुन्छिन् ।

उनी पहिलो पटक फिल्म ‘नाई नभन्नु ल २’ मा बाल कलाकार अनुभव रेग्मीको आमा बनिन् । त्यसपछि ’नाई नभन्नु ल ४’ मा पनि उनी अनुभवकै आमाको भूमिकामा देखिइन् । आखाँमा ठूलो चस्मा र साडी लगाएर उनले आमाको भूमिकालाई न्याय दिने हर सम्भव प्रयास गरिन् । हिरोइनको रुपमा उनले जति प्रशंसा पाइन् त्योभन्दा कयौं आमा बन्दा उनको अभिनयको तारिफ भयो ।

यसैले पनि हुनसक्छ उनमा आमा बन्ने रहर थप जाग्न थालेको छ । संयोग नै भनौं, उनी जुन फिल्ममा आमा बनेकी छिन् ती फिल्म प्रायः हिट छन् । प्रियंका ‘छक्का पञ्जा २’ मा पनि अभिनेत्री स्वस्तिमा खड्काकी आमा बनिन् । पछिल्लो रिलिज फिल्म ’हजार जुनीसम्म’ मा पनि उनी अनुभव रेग्मीकै आमाको भूमिकामा देखिइन् । तर, यो फिल्मले भने बक्सअफिसमा गतिलो व्यापार गरेन ।

लगातार पर्दामा आमाको भूमिकामा देखिँदै गर्दा दर्शकको मनमा भने अनेकौं प्रश्न जन्मन थालेका छन् । उनलाई आमा बन्ने रहर नै हो वा बाध्यता ? उनका एकाध फिल्म बाहेक लिड रोल रहेका फिल्मले राम्रो विजनेश गर्न सफल भएका छैनन् । उनीमा आफ्नै बलबुतोले फिल्म सफल बनाउने सामथ्र्य छैन । यसकारण कतै उनी आमा बनेरै भए पनि चित्त बुझाउने बाटो त खोज्दै छैनन् ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७